आइतवार , चैत्र २९, २०८२
तिलोत्तमा । तिलोत्तमा नगरपालिका २ नारदपथका भोजराज खनालको घरको गेट अगाडि हरेक दिन ११ बजे एउटा गाडी आउछ । गेट अगाडि हरेक दिन आउने उक्त गाडीमा खनाल चड्न लागेको साढे दुई बर्ष बढी भयो । हरेक दिन बिहान ११ बजे गाडिमा चढेर जाने र साँझ ५ बजे घर फर्किने खनालको दैनिकी बनेको छ ।
धेरैलाई कौतुहलता हुन सक्छ, हरेक दिन खनाल कहाँ जानुहुन्छ ? उहाँ रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ श्रृङ्गेश्वर धाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रमा जाने गर्नुहुन्छ । उमेरले ७९ बर्ष लाग्नु भएका खनाल मिलनकेन्द्रमा आफू जस्तै उमेरका अरु थुप्रै संग बसेर खुसीसाथ दिन बिताउन पुग्ने गरेको बताउनु हुन्छ । खनालका ३ भाई छोरा र १ छोरी छन् । छोरा छोरी सबैको विवाह भएर आआफ्नो कर्ममा लाग्नु भएको छ । नाति नातिना पनि छन् । तर, सबै भए पनि कोही स्कुल जाने, कोही आफ्ना पेशा व्यवसायमा जाने र आफुहरु बुढाबुढी मात्र एक्लै घरमा बस्न पट्यार लाग्ने भएकाले मिलन केन्द्र जाने गरेको उहांले बताउनु भयो ।
‘जेष्ठ नागरिक मिलन केन्द्र खुलेको दिन देखि नै त्यहा जान थालेको, त्यहा गएपछि सबैतिरका आफ्ना उमेरका साथिहरु भेट हुन्छ, दुःख सुख गर्ने, भजनकिर्तन गर्ने, ध्यान, योगा गरेर समय बिताउने गरेका छौं’– खनालले भन्नुभयो(‘बुढेसकालमा हामीलाई निकै सजिलो भएको छ ।’
त्यस्तै बुटवलकी इन्दीरा ज्ञवाली पनि यहां आउन लाग्नु भएको धेरै समय भयो । उहाँ घरमा एक्लै बस्नु हुन्छ । उहाँका २ छोरा र २ छोरी हुनुहुन्छ, तर, सबै जना कामको शिलशिलामा कोहि विदेशमा हुनुहुन्छ भने त कोहि भने देश भित्रै भएपनि संगै हुनुहुन्न । चाडपर्व लगाएत बेला मौकामा आए पनि अरु बेला भने उहाँ एक्लै नै बस्ने गरेको बताउनु भयो ।
उहाँ छोरासंग घुम्नका लागि भन्दै अमेरिकासम्म पुग्नुभयो, एक वर्ष बस्नु भयो, त्यो एक वर्ष उहाँको लागि पिंजडा भित्र बसे जस्तै बन्यो । ‘न कही जान पाईने, न अरु कसैसंग बोल्न जानिने, अन्जानमा गल्ति हुन पनि नहुने , यस्तो ठाउंमा बस्नु भन्दा बरु एक्लै भएपनि आफ्नै गाँउ ठाँउ रमाईलो भनेर फर्किए’– उहाँले भन्नुभयो(‘दिन भरी यस धाममा आफुहरु जस्तै साथिहरुसगं दुःखसुख ग¥यो, निकै रमाईलो भएको छ। उहाका अनुसार जेष्ठ नागरिक मिलन केन्द्रमा घरमा भन्दा पनि राम्रो स्याहार सुसार, खान पान, औषधी, योगा व्यामले गर्दा सबै दःुख भुलाएको छ ।
तिलोत्तमामा सञ्चालनमा रहेको उक्त जेष्ठ नागरिक मिलन केन्द्रमा दैनिक आउने ६५÷७० जनाको सहारा बन्ने काममा तिलोत्तमा नगरपालिकाले ठुलो सहयोग रहेको सस्थाका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकलाई एक्लोपनको महशुस हुन नदिनका लागि अहिले तिलोत्तमा र बुटवलका बिभिन्न बडाबाट जेष्ठ नागरिकलाई घरमै गएर ल्याउने, दिउसो भरी बिभिन्न क्रियाकलापमा रमाउन सिकाउने, दिउसोको खाजा खुवाउने र साझ पुन घरमै लगेर छाड्ने गरेको बताउनु भयो । उहाँहरुलाई ल्याउन लैजानका लागि दैनिक दुईवटा सवारी साधन प्रयोग गरिएको छ । मिलन केन्द्रमा सेवा लिन आउने भन्दै शुरुमा एक सय १८ जना भर्ना हुनुभएको थियो । जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि तिलोत्तमा नगरपालिकाले आबश्यक सहयोग प्रयोग गरेको उहाँको भनाई छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरी बहादुर क्षेत्रीले मिलन केन्द्रका लागि वडा स्तरबाट गर्न सकिने सबैजसो सहयोग गरिएको बताउनु भयो । उहाँले जेष्ठ नागरिकलाई सहभागि बनाउन देखि जग्गा व्यवस्थापन देखि सडक निर्माण र हाईमास्ट लाईट जडान सम्ममा वडाले सहजीकरण गरेको बताउनु भयो ।
समाजको समग्र विकास केवल भौतिक पूर्वाधारले मात्र सम्भव हुँदैन, त्यसका लागि सबै उमेर समूहका नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ, त्यसैले जेष्ठ नागरिकका लागि काम गरेका हौं सस्थाका अध्यक्ष पाण्डेले भन्नुभयो ।
विशेषगरी ज्येष्ठ नागरिकहरू, जसले आफ्नो जीवनको अमूल्य समय समाज निर्माणमा खर्च गरेका हुन्छन्, उनीहरूलाई सम्मान, साथ र अवसर प्रदान गर्नु हामी सबैको साझा दायित्व ठानेर हामीले सेवा शुरु गरेको उहाँको भनाई छ ।
तिलोत्तमामा सञ्चालनमा रहेको ज्येष्ठ नागरिक मिलनकेन्द्र अहिले केवल भेटघाट गर्ने स्थल मात्र नभई मनोरञ्जन र ज्ञान आदान–प्रदानको महत्वपूर्ण थलोका रूपमा विकसित हुँदै गएको छ । मिलन केन्द्रलाई अहिलेको अबस्थामा ल्याएर सञ्चालन गर्नका लागि स्थानिय सरकारको रुपमा रहेको तिलोत्तमा नगरपालिकाले आर्थिक देखि अन्य सबैजसो खालका सहयोग गरेको अध्यक्ष पाण्डेको भनाई छ ।
यस मिलनकेन्द्रले ज्येष्ठ नागरिकलाई एक्लोपनबाट मुक्त गराउने मात्र होइन, उहाँहरु विचका अनुभव र ज्ञानलाई नयाँ पुस्तासम्म पु¥याउने पुलको काम पनि गरिरहेको सस्थाका सचिव गणेश प्रसाद कणेलले बताउनुभयो । दैनिक जीवनको व्यस्ततामा परिवारका सदस्यहरू समय दिन नसक्दा धेरै ज्येष्ठ नागरिकहरू मानसिक रूपमा एक्लो महसुस गर्ने गरेका छन् । यस्तो अवस्थामा मिलनकेन्द्रहरू उहाँहरूको लागि आश्रयस्थल जस्तै बनेका छन्, जहाँ उहाँहरूले आफ्ना उमेर समुहका साथीसँग भलाकुसारी गर्न पाउँछन्, हाँसो साटासाट गर्न पाउँछन् र जीवनका अनुभूति बाँड्न पाउँछन् ।
सस्थाले जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्खै आएको छ । बिहान आउने बित्तिकै मित्रता/आत्मीयता, स्नेह मिलन, त्यसपछि उहाँहरुको जन्मोत्सव, विवाह उत्सव, धार्मिक तथा अन्य कार्यक्रमहरु, त्यसपछि ध्यान, योग र त्यसपश्चात पाठ परायण लगाएतका कार्यक्रम रहेको सचिव कणेलले जानकारी दिनुभयो ।
मिलन केन्द्रमा आउने जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना, भजन–कीर्तन, पुस्तक वाचन, कथा–कहानी आदान–प्रदानजस्ता गतिविधिहरू पनि समावेश गरिएको छ । यसले ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको ८१ बर्षिय जेष्ठ नागरिक केदारनाथ पराजुलीको भनाई छ । उहाँका अनुसार नियमित रूपमा योग अभ्यास गर्ने, साथीभाईसंगको भेटघाट, सुख दुःख आदान प्रदानले आफुहरुलाई माानसिक रुपमा शान्ति प्रदान गरिरहेको बताउनु भयो ।
मिलन केन्द्र सञ्चालनका लागि एक सय ८२ जना दाताले सहयोग गर्नु भएको छ । त्यससंगै तिलोत्तमा नगरपालिका सहित प्रदेश र संघिय सरकारले पनि सहयोग गरेको छ । तिलोत्तमा नगरपालिकाकी महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सम्झना भण्डारीले जेष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले आबश्यक सहयोग गर्दै आएको बताउनु भयो । उहाँले मिलन केन्द्रले जेष्ठ नागरिकको सामाजिक हितमा ठुलो योगदान दिएको बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले जेष्ठ नागरिकको सेवा र अधिकार प्रबद्धनका लागि मिलन केन्द्र मार्फत सहयोग गर्दै आएको बताउनु भयो । उहाँले पुर्वाधार निर्माण देखि प्रचार प्रसार सम्ममा नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij