आइतवार , चैत्र २९, २०८२
बुटवल, २९ चैत । ठूलाखर्क सेवा समाज, बुटवल–रुपन्देहीको आयोजनामा नयाँ वर्ष २०८३ सालको अवसर पारेर शुभकामना आदानप्रदान तथा वंशावली र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष टामलाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले समाजको एकता, पहिचान र संस्कृतिको संरक्षणमा यस्ता गतिविधिको महत्व औंल्याएका छन् ।
कार्यक्रममा समाजका संरक्षक एवं वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले वंशावली प्रकाशनले पुस्तान्तरणबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउनुभयो । उहाँले समाजका सदस्यहरूलाई आपसी सहकार्य र सद्भाव कायम राख्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष घनश्याम ज्ञवालीले समाजलाई व्यवस्थित र सक्रिय बनाउन सबैको सहभागीता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । महासचिव किशोर ज्ञवालीले समाजले विगतदेखि गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिहरूको चर्चा गर्दै वंशावली दस्तावेजले इतिहास संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
कोषाध्यक्ष लक्ष्मण ज्ञवालीले समाजको आर्थिक पारदर्शीता र उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । आदर्श आधारभूत विद्यालय, ठूलाखर्कका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश ज्ञवालीले शिक्षा क्षेत्रमा समाजको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा मोहन प्रतिभा पुरस्कारका संस्थापक तथा समाजका आजीवन सदस्य मोहन ज्ञवालीले प्रतिभा सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा वर्ष २०८२ का लागि ‘मोहन प्रतिभा पुरस्कार’ वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली र वेद विज्ञ काशीनाथ ज्ञवालीलाई प्रदान गरिएको थियो ।
त्यसै गरी समाजलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमले आपसी सद्भाव, एकता र साँस्कृतिक पहिचान सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij