शनिवार , चैत्र २८, २०८२
भैरहवा, २८ चैत । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चार माध्ययमसँग सम्झौता गरी अनुुदान विज्ञापनवापतको कार्यक्रम सञ्चालन नगरेको भन्दै प्रदेश सभा सदस्यले सरकारको ध्यानकर्षण गराएका छन् ।
शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुुप्ता (सिके) ले आन्तरिक मामिला मन्त्रालयको कारण मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो–‘साउनमै मिडियाहरुसँग सम्झौता गरेर सूचना तथा अनुुदान विज्ञापन कार्यक्रम सञ्चालन गर्नुुपर्नेमा चैत्र सकिदासम्म भएको छैन । यसले सञ्चार क्षेत्रको ५० लाख बजेट फ्रिज हुने खतरा बढेको छ । सरकारले तत्काल सूचना निकालेर सम्झौता गर्नुपर्छ।’
पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका सांसद् गुप्ताले सरकारलाई तत्काल सूचना निकाली सञ्चार गृहहरुसँग सम्झौता गरी अनुदानवापतको कार्यक्रमहरु टेलिभिजन, रेडियो, अनलाईन र पत्रिकामा प्रशारण तथा प्रकाशन गर्न/गराउन माग गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्ययमसँग सम्बन्धित कार्यक्रमहरु अहिलेसम्म अगाडी बढाएको छैन । बिहीबार मात्रै राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष गोपाल ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुुख्यमन्त्री कार्यालयमा भेटेर सरकारको ध्यानाकर्षण गराएको थियो । सरकारले साउन महिनादेखि कार्यक्रम सञ्चालन गर्नुुपर्नेमा चैत अन्तिम सातासम्म पनि सम्झौता नगरेपछि राष्ट्रिय टेलिभिजन प्रशारक संघले ध्यानाकर्षण गराएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij