२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

मर्चवार प्रेस क्लबको दोस्रो साधारण सभा सम्पन्न

शुक्रवार , चैत्र २७, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • मर्चवार, २७ चैत । मर्चवार प्रेस क्लब, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिका–७ स्थित बेतकुइयाँस्थित वडा कार्यालयको सभाहलमा एक कार्यक्रमकाबीच सभा सम्पन्न भएको हो ।

    साधारण सभामा प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले समाजप्रति पहरेदारका रूपमा पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार तथा निजी संघ–संस्थाले गरेका कमी–कमजोरीप्रति सचेत गराउन पत्रकारले कलम चलाउनुपर्ने उल्लेख गर्नुभयो । 

    ‘पत्रकारले समाजको लागि पहरा नगरे देश कुन दिशामा जान्छ भन्ने निश्चित हुँदैन, त्यसैले पत्रकारको योगदानलाई सरकार र निजी क्षेत्रले सम्मान गर्नुपर्छ,’उहाँले भन्नुभयो । समाजमा भइरहेका गतिविधिबारे निष्पक्ष रूपमा लेखन गर्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

    त्यस्तै विशिष्ट अतिथि मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष तथा संस्थाका सल्लाहकार राम विकास चौधरीले पत्रकारिता क्षेत्रमा चुनौती थपिँदै गएको बताउनुभयो । उहाँले सत्यतथ्यमा आधारित खोजमूलक पत्रकारितामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

    उहाँले धार्मिक, पुरातात्त्विक तथा दबिएका विषयवस्तु उजागर गरी प्रमाणसहित समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । सार्वजनिक निकायलाई जवाफदेही बनाउन सूचना अधिकारको प्रयोग गरी तथ्य संकलन र व्यवस्थित रूपमा समाजलाई सूचित गर्नुपर्ने उहाँको भनाइ थियो ।

    उहाँले मर्चवार प्रेस क्लब नयाँ संस्था भएकाले यसलाई सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउन चुनौतीहरू रहेको उल्लेख गर्दै सबै सदस्यलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । साथै पत्रकारितालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउन तथा शोषित, पीडित र राज्यको पहुँचबाट टाढा रहेका समुदायको आवाज बन्न पनि आग्रह गर्नुभयो ।

    कार्यक्रमको अध्यक्षता गर्दै मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले क्लबले समाज रूपान्तरण, पत्रकारहरूको लेखन क्षमता विकास तथा उनीहरूको हकहितमा काम गर्दै आएको बताउनुभयो । उहाँले पत्रकारहरूले समाजप्रतिको जिम्मेवारी बोध गर्दै निरन्तर सक्रिय रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रममा संस्थाको लेखापरीक्षण प्रतिवेदन सह–सचिव सीताराम चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुमन कुमारी कलवार, सचिव मोहम्मद असलम खाँ, सदस्य अन्जना चौहान लगायतले बोल्नुभएको थियो ।