
शुक्रवार , बैशाख २४, २०७८
बुटवल, २४ वैशाख ।
रुपन्देहीका अस्पतालहरुमा बेड अभाव छ । बिरामीले भरिभराउ भएपछि बेड अभाव भएको अस्पतालहरुले जनाएका छन् । कोरोना संक्रमित बिरामीहरु भुईमै सुतेर उपचार गराउन बाध्य छन् । यस्तै यहाँका अस्पतालहरुमा अक्सिजनको पनि अभाव छ । विशेष गरी कोरोना संक्रमित बिरामीका लागि अतिआवश्यक अक्सिजन सिलिन्डरको अभावमा बिरामीहरुले अकालमा ज्यान गुमाइरहेका छन् ।
उता कतिपय स्थानीय तह र संघ–संस्थाहरुले अक्सिजन बैंक नै स्थापना गरी अक्सिजन र सिलिण्डर अभाव हुन नदिने उद्घोष गरिरहेका समाचारहरु पनि बाहिर आइ नै रहेका छन् । तर आज आम जनमानस आक्रान्त छ किन ? प्रश्न सर्वत्र उठ्न थालेको छ । उपचार अभावमा स्थानीय जनप्रतिनिधिकै ज्यान जान थालेपछि सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ ।
आज शुक्रबार एकाबिहानै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्र खनालले अस्पतालमा बेड र अक्सिजन अभावमा बिरामीहरु छटपटाइरहेको र उनीहरुलाई टुलुटुलु हेरेर बस्नुबाहेक यहाँका डाक्टर र नर्संसँग अरु कुनै विकल्प नरहेको सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत आफ्नो धारणा राखेका छन् ।
‘निषेधाज्ञाका कारण बिरामी अलिक गम्भिर नभइ अस्पताल आउँदैनन, यहाँ आएपछि बेड पाउँदैनन, औषधी उपचार पाउँदैनन, अक्सिजन पाउँदैन, निजी अस्पतालले पनि बिरामी सिरियस भएपछि यहाँ पठाउँछन् । अनि उपचार अभावमा बिरामीले ज्यान गुमाउँछन् । सरोकारवाला निकाय के हेरिरहेको छ ?’-डा. खनाल प्रतिपश्न गर्छन् ।
डा. खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न आउने गम्भिर प्रकृतिका बिरामीका लागि दैनिक ३ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ तर दैनिक १ सय भन्दा बढी सिलिण्डर अस्पताललाई उपलब्ध हुन सकिरहेको छैन् । यसअघि बिग्रेको अवस्थामा रहेको अस्पतालको अक्सिजन प्लान्ट पनि आजबाट मर्मतसंभार भइ संचालनमा आउन थालेको छ ।
अन्य निजी अस्पतालहरुमा बिरामीलाई पहिले भर्ना लिईन्छ, कोभिड पोजेटिभ रिपोर्ट आएपछि अन्यत्र जान दवाव दिइन्छ, भन्ने गुनासो पनि आईरहेको छ। अस्पताल पुग्दासम्म बिरामी गम्भिर बिरामी भइसकेको हुन्छ यो छैन, त्यो छैन, उता लैजाउ र उता लैजाउ गर्दा गर्दै बिरामीको ईहलिला समाप्त हुन्छ । कताकता निजि अस्पतालहरु गैरजिम्मेबार बनेका हुनकी भन्ने लाग्न थालेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
समाजसेवी प्रख्यात बञ्जाडेले कोभिड संक्रमित विरामीहरुको भुइमा राखेर उपचार भइरहेको बताए । उनले सरकारले यसतर्फ ध्यान दिनुपर्ने माग गरे ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) यस क्षेत्रकै ठुलो मेडिकल कलेज, धेरै बेड संख्या र धेरै जनशक्तिका साथ धेरै साधनश्रोत भएको अस्पताल पनि हो । तर केही दिन यता बिरामीको चाप अत्याधिक रहेकोले आवश्यकता अनुसारको अक्सिजन सिलिण्डरको आपूर्ति हुन नसकेकोले समस्या उत्पन्न भएको अस्पताल प्रशासनको भनाइ रहेको छ ।
कुल १ सय १० वटा एचडीयु र आइसीयु बेड क्षमता रहेको मेडिकल कलेजमा विगतमा दैनिक १ सय ३० देखि १ सय ५० वटा अक्सिजनका सिलिण्डर खपत हुने गरेकोमा कोभिड महामारीले बिरामी बढेसंगै दैनिक ५ सयको हाराहारीमा सिलिन्डर आवश्यक पर्न थालेको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
त्यस्तै देवदह, सैनामैना र तिलोत्तमाका अस्पतालहरुमा पनि एम्बुलेन्स, बेड र अक्सिजन दुवै अभाव हुँदै गएको बताइएको छ । हुन त सरकारले रुपन्देही जिल्लामा दैनिक उपभोग्य सामाग्री उत्पादन गर्नेबाहेकका सबै उद्योगहरु जहाँ अक्सिजन प्रयोग हुन्छ ती सबै बन्द गर्ने निर्णय गरिसकेको छ । तसर्थ तत्काल अक्सिजनको समस्या समाधान हुन नसके स्थिति भयावह, विकराल र कहालीलाग्दो अवस्था उत्पन्न हुने आंकलन गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij