२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

इन्द्रा सुगरका सञ्चालक सम्पर्कबिहीन भएपछि उखु किसान मर्कामा

आइतवार , चैत्र २२, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • पश्चिम नवलपरासी, २२ चैत ।  नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकास्थित गंगापुरमा रहेको इन्द्रा सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रा.लि. अहिले  सुनसान छ ।  उद्योगको मूल गेटमा ताल्चा झुण्डिएको छ, तर त्यसबाहिर आफ्नो पसिनाको मूल्य कुरिरहेका किसान र महिनौंदेखि तलब नपाएका कर्मचारीहरूको अनुहारमा छटपटी प्रष्ट देखिन्छ ।

    उद्योगका सञ्चालक राकेश अग्रवाल गत वर्षदेखिकै करोडौं बक्यौता नतिरी सम्पर्कविहीन भएपछि यहाँको अवस्था जटिल बनेको छ । स्थानीयका किसानहरूका अनुसार अग्रवाल हाल भारतमा हुनुहुन्छ । यता किसान भने हातमुख जोर्नै धौधौ पर्ने अवस्थामा पुगेका छन् ।

    उखु उत्पादक  महासंघका केन्द्रिय प्रवक्ता, लुम्बिनी प्रदेश समितिका संयोजक तथा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले उद्योग सञ्चालक हाल भारतको लखनउमा रहेकोले उद्योग सञ्चालक अग्रवाललाई नेपाल सरकारले नेपालमा ल्याउन अघि बढ्नुपर्ने बताउनुभयो । यादव भन्नुहुन्छ-‘हामीले सञ्चालकलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्यौं, तर अहिलेसम्म सफलता मिलेको छैन । यसले किसानमाथि ठूलो अन्याय भएको छ । ‘समस्याबारे गाउँपालिकाले यस अगाबव स्थानीय प्रशासनदेखि संघीय मन्त्रालयसम्म पत्राचार गरिसकेको छ ।’

    उद्योगले किसानको मात्रै करिब ६ करोड रुपैयाँ उखुको भुक्तानी दिन बाँकी छ । त्यस्तै कर्मचारीहरूको १ करोड भन्दा बढी तलब रोकिएको छ भने विभिन्न बैंकहरूको करिब ४० करोड रुपैयाँ ऋण समेत जोखिममा परेको छ।  उद्योगको सम्पत्तिभन्दा ऋणको भार बढी देखिएपछि बैंकले उद्योग परिसरमा आफ्नै सुरक्षा गार्ड खटाएको छ ।

    स्थानीय किसानहरू भन्छन्–‘यो सरासर योजनाबद्ध ठगी हो । किसानसँग उधारोमा उखु किन्ने, चिनी बेचेर पैसा कुम्ल्याउने र भुक्तानी दिने बेला बेपत्ता हुने ? यो अन्यायको पराकाष्ठा हो । उद्योगको लापरवाहीका कारण किसानहरूले सरकारले दिने अनुदानसमेत पाउन सकेका छैनन् ।

    गत वर्ष २१८ जना किसानको विवरण उद्योगले नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमै रोकिएको छ । रकम लिन बाँकी छ । अब त उखु खेती नै छोडौं जस्तो भइसक्यो, ‘निराश हुँदै भुक्तानी नपाएपछि धेरै किसानहरू कम मूल्यमै क्रसर (भेली) उद्योगमा उखु बेच्न बाध्य छन्, जहाँ सरकारी अनुदान समेत पाइँदैन, ’किसान भन्छन् । इन्द्रा सुगर बन्द भएपछि किसानहरू सुस्तास्थित बागमती चिनी उद्योगमा उखु लैजान बाध्य छन् ।

    यतिबेला किसानहरूको अन्तिम आशा सरकारको १०० दिने कार्यक्रम मा टिकेको छ।  सरकारले २५ दिनभित्र उखुको भुक्तानी नगरे उद्योगीले ब्याज समेत तिर्नुपर्ने नयाँ व्यवस्था ल्याउने चर्चाले किसानमा केही आश जगाएको छ ।

    इन्द्रा सुगर प्रकरणले नेपालका उखु किसानहरू कसरी पटकपटक ठगिन्छन् भन्ने एउटा नमिठो उदाहरण पेश गरेको छ । समयमै सञ्चालकलाई कानूनी दायरामा ल्याइ किसानको बक्यौता चुक्ता नगर्ने हो भने यस क्षेत्रबाट उखु खेती पूर्ण रूपमा विस्थापित हुने किसानको चिन्ता छ ।