शनिवार , चैत्र २१, २०८२
भैरहवा, २१ चैत । रुपन्देहीमा २०८३ वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने जिल्ला आर्थिक गणना कार्यालय, रुपन्देहीले जनाएको छ ।
जिल्ला आर्थिक गणना अधिकारी विपिन कुमार पंजियारले ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित नेपालभर २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म दोस्रो राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने बताउनुभयो ।
रुपन्देहीमा वैशाख २ देखि असार ७ गतेसम्म गणक÷सुपरीवेक्षक फिल्डमा खटिने उहाँले जानकारी दिनुभयो । ‘पहिलो आर्थिक गणना २०७५ सालमा सम्पन्न भएको थियो । त्यतिबेला करिब २३ लाखको हाराहारीमा उद्योग प्रतिष्ठानको आर्थिक गणना भएको थियो, ’उहाँले भन्नुभयो । उहाँका अनुसार यसपटक नेपालको ७७ जिल्लाका ८४ वटा स्थानमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।
उद्योग, व्यवसाय, प्रतिष्ठानको आर्थिक गतिविधि र अर्थतन्त्रमा उनीहरुको योगदानबारे जानकारी प्राप्त गर्नु र नीति निर्माणमा सहयोग पुर्याउनु दोस्रो आर्थिक गणनाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले सत्यतथ्य विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो ।
जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले रुपन्देही औद्योगिक र व्यापारिक हिसाबले महत्वपूर्ण जिल्ला भएको बताउनुभयो । उहाँले पर्यटन र अर्थतन्त्रका हिसाबले पनि यो महत्वपूर्ण ठाउँ भएको बताउनुभयो । उहाँले तथ्यपरक तथ्यांकका लागि यथार्थ विवरण उपलब्ध गराउन सबैलाई आग्रह गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले आर्थिक गणनामा सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो । कर तिरेर सञ्चालन भएका व्यवसायहरूलाई डराउनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो । ‘राज्यलाई सही तथ्यांक उपलब्ध गराउनु हामी सबैको दायित्व हो, यसमा हिचकिचाउनु हुँदैन’ उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij