२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मनोनयन आज : बादल र देवकोटा भिड्दै

शुक्रवार , बैशाख २४, २०७८

बुटवल, २४ वैशाख । बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदैछ । यसअघि नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रामबहादुर थापा ‘बादल’ले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो। 

राष्ट्रियसभामा अन्य समुहबाट प्रतिनिधित्व गर्ने सदस्यका लागि आगामी जेष्ठ ६ गते हुनगैरहेको उपनिर्वाचनमा एमालेतर्फबाट बादल र बिपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा भिड्दैछन् ।

माओवादी केन्द्रबाट दल त्याग गरी एमालेमा प्रवेश गरेका बादललाई सत्तारुढ नेकपा एमालेले उक्त पदमा उम्मेदवार बनाएको छ भने उता बिपक्षी गठबन्धनबाट एमाले माधवकुमार नेपाल समुहनिकट डा..खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइएको छ । 

कांग्रेस, एमाले नेपाल समुह, माओवादी र जसपाका तर्फबाट साझा उम्मेदवार बनेका डा.देवकोटा संविधानबिद् र योजनाविद् मानिन्छन् । उनी यसअघि प्रदेश नम्बर ३ का योजना आयोगका उपाध्यक्ष बनिसकेका छन् ।

यसैबीच रामबहादुर थापा बादल हेलिकप्टर चढेर मनोनयन दर्ताका लागि हेटौंडा पुगेको खवर छ । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भोलि उम्मेदवारको विरोधमा उजुरी गर्न पाउने कार्यतालिका छ । त्यसै गरी, २६ र २७ गते उजुरी उपर जाँचबुझ गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने तथा २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। 

यता लुम्बिनी प्रदेशको उपनिर्वाचनका लागि भने निर्वाचन आयोगले मिति तोकिसकेको छैन । तथापी विपक्षी गठबन्धनले केही दिन अघि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका निवर्तमान प्रदेशसभा सदस्यलाई दृघ नारायण पाण्डेलाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।