आइतवार , चैत्र ८, २०८२
भैरहवा, ८ चैत । मोर्डन पब्लिक स्कूल सिद्धार्थनगर नगरपालिका–८ भैरहवा, रुपन्देहीको २३ औं वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि पोख्रेलले मोर्डन पब्लिक स्कूलले धेरै प्रगति गरेको बताउनुभयो । उहाँले विद्यार्थी र विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउनुभयो । पोख्रेलले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउँदै यसका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताउनुभयो । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको उहाँले बताउनुभयो ।
विद्यालयका अध्यक्ष अमित यादवले मोर्डन पब्लिक स्कूल इतिहास बोकेको विद्यालय भएको बताउनुभयो । उहाँले बिद्यालयका शिक्षक र कर्मचारी लगायत विद्यालयको सम्पुर्ण टिमको अथक प्रयासले नै मोर्डन पब्लिक स्कुल शैक्षिक गुणस्तरमा फड्को मारेको बताउनुभयो ।
विद्यालयका वरिष्ठ सल्लाहकार तथा ब्राइट स्टार इंगलिस बोर्डिङ स्कूलका प्राचार्य एल.बि, रौतारले विद्यार्थीहरुलाई अगाडि बढाउन र उनीहरुको शैक्षिक गुणस्तरमा अभिभावकहरुको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।
मोर्डन पब्लिक स्कूलका प्रबन्ध निर्देशक तथा ब्राइट स्टार इंगलिस बोर्डिङ स्कूलका सह–प्राचार्य राहुल यादवले आधुनिक शिक्षा नै आजको आवश्यकता भएकोले यहाँका शिक्षकहरुलाई सोही अनुसार शिक्षा प्रदान गर्न अनुरोध गर्दै यसमा अभिभावकहरुलाई आफनो महत्वपुर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
त्यसै गरी कक्षा ७ को विद्यार्थी साइना खातुनले शुभकामना मन्तव्य राख्नुभएको थियो । कक्षा ८ को विद्यार्थी आयुषी चौरासिया, कक्षा ९ को विद्यार्थी पल्लवी कान्दु, सिफा समानी, आयुषा वि.क.ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफनो जीवन यसै पेशामा समर्पित गर्नुहुने किसन थापा र रुखमिणी थापालाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिका र अभिभावकहरुलाई पनि प्रशंसा–पत्रले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा भएका विभिन्न खेलकुद प्रतियोगिता र आर्थिक वर्ष २०८१ मा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नाचगानमार्फत आ–आफनो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मोडर्न पब्लिक स्कूल भैरहवाका प्राचार्य मुकेश यादव, ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूलका को–अर्डिनेटर नारायण कश्यप, अनामिका जब लिंकका प्रबन्धक अनामिका यादव, सुर्यदेव मा.वि. का प्रधानाध्यापक भरत कुमार गिरी, विरेन्द्र यादव, कौशल मिश्रा लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
