२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरु

शुक्रवार , चैत्र ६, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • लुम्बिनी, ६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले बुद्धले सिकाएका अहिंसा र शान्ति सन्देश आज पनि संसारभर उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    उहाँले शान्ति सन्देशलाई कार्यान्वयन गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बिहिवारदेखि तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको शुभारम्भ गर्दै मन्त्री सिन्हाले दया, माया, करुणा जस्ता बुद्धका पञ्चशील सिद्धान्तको आज पनि उत्तिकै महत्व रहेकोमा समेत जोड दिनुभयो ।

    कार्यक्रममा चीनियाँ राजदूत चाङ माओमिङले चीन र नेपाल भौगोलिक रुपमा नजिक रहेका, हिमाल र नदीले जोडिएका असल छिमेकी राष्ट्र मात्र नभइ साँस्कृतिक रुपमा पनि गहिरो सम्बन्धले गाँसिएका मित्रराष्ट्र भएको बताउनुभयो ।

    उहाँले दुवै देशले पञ्चशीलका सिद्धान्तलाई मार्गदर्शकका रुपमा अंगाल्दै आपसी विश्वासलाई सुदृढ बनाएको उल्लेख गर्दै आपसी सहकार्यलाई दुवै देशले निरन्तर विस्तार गर्दै आइरहेको बताउनुभयो ।  

    विश्व परिवेशमा धेरै दुर्लभ परिवर्तनहरु तीवर रुपमा अगाडि बढिरहेकाले अन्तर्राष्ट्रिय अवस्था झन् जटिल र अस्थिर बन्दै गएको बताउँदै राजदुत माओमिङले भन्नुभयो( ‘विभिन्न क्षेत्रमा द्धन्द्ध तथा युद्धका घटनाहरु दोहोरिइरहेका छन्, यस्तो अवस्थामा शान्ति कुनै सैद्धान्तिक कुरा नभइ सबै परिवारको आधारभूत चाहना बनेको छ ।’ 

    उहाँले शान्तिपूर्ण विकासलाई राष्ट्रिय मार्गदर्शनका रुपमा अघि बढाउँदै आएको चीन विश्वका सबै शान्तिप्रेमी राष्ट्रहरुसँग हातेमालो गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राजदुत माओमिङले विकास, सुरक्षा, सभ्यता र सुशासनका क्षेत्रमा सहकार्यलाई प्रवर्द्धन नगर्दै चीनले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रता जस्ता साझा मानव मूल्यहरुको संरक्षण र प्रबद्र्धनमा जोड दिइरहेको उल्लेख गर्नुभयो ।

    समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुद्धका उपदेश पालना गर्न सके शान्ति स्थापनामा सहयोग पुग्ने बताउनुभयो । 

    लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले पनि विश्व शान्ति, लुम्बिनी र बौद्ध धर्मबारे चर्चा गर्दै संसारकै सबैभन्दा ठूलो बौद्धमार्गी भएको देश चीनको प्रशंसा गर्नुभयो । 

    नेपालस्थित चीनियाँ दुतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषको संयुक्त आयोजना रहेको छ । 
    महोत्सव अन्तर्गत शुक्रबार योग र संगीत महोत्सव तथा शनिवार ओलम्पिक दौड कार्यक्रम तय गरिएको छ ।