बुधवार , फाल्गुण २७, २०८२
भैरहवा, २७ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले भीम अस्पताल केवल एउटा अस्पताल मात्र नभइ जनताको भरोसा भएको बताउनुभएको छ । उहाँले अस्पताललाई समयअनुसार प्रविधि, दक्ष जनशक्ति र राम्रो व्यवस्थापनसहित लुम्बिनी क्षेत्रकै स्तरीय र विश्वासिलो सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक रहेकोमा आफूले जोड दिएको बताउनुभयो ।
मंगलबार सिद्धार्थनगर नगरपालिका–१३ (भैरहवा) स्थित भीम अस्पतालको अवलोकन गरेपछि सांसद् डा. थापाले स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा पनि यस अस्पतालको विकास र स्तरोन्नतिबारे आफूले धेरैपटक सोच्ने गरेको बताउनुभयो । उहाँले प्रत्यक्ष पुगेर अस्पतालको वास्तविक अवस्था बुझ्दा यसलाई अझ व्यवस्थित र स्तरीय बनाउने सम्भावनाहरू पनि स्पष्ट देखिएको बताउनुभयो । झण्डै एक शताब्दीको इतिहास बोकेको यो अस्पताल रुपन्देही तथा आसपासका हजारौं नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बनेको उहाँले बताउनुभयो।
अस्पताल व्यवस्थापनसँगको छलफलका क्रममा केही महत्वपूर्ण विषयमा विशेष ध्यान दिन आग्रह गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो र प्रभावकारी बनाउन, आवश्यक स्वास्थ्यकर्मी तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न, आधुनिक प्रविधि र उपकरण थप गर्दै उपचार सेवाको स्तर उकास्न, आकस्मिक, आईसीयू र विशेषज्ञ सेवा थप विस्तार गर्न, बिरामीले सहज, सम्मानजनक र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न, सरसफाई, व्यवस्थापन र सेवा प्रक्रियालाई पारदर्शी र अनुशासित बनाउन सुझाव दिएको उहाँले बताउनुभयो ।
साथै अस्पतालमा कार्यरत नन–मेडिकल स्टाफ तथा सुरक्षामा खटिएका गार्डहरूलाई पनि समयसापेक्ष आधारभूत स्वास्थ्य सचेतना तथा आपतकालीन परिस्थितिमा कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिनुपर्ने आवश्यकता रहेको कुरा पनि अस्पताल व्यवस्थापनलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो । उहाँले जनताको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु राज्यको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
‘भीम अस्पतालको स्तरोन्नति, सेवा विस्तार र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्न म सधैं प्रतिबद्ध रहनेछु । स्वास्थ्य सेवा कुनै सुविधा होइन, जनताको आधारभूत अधिकार हो । यो अधिकार व्यवहारमा सुनिश्चित गर्न राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ, ’उहाँले भन्नुभयो ।
अवलोकनका क्रममा प्रतिनिधि सभा सदस्य डा.थापाले अस्पताल प्रमुख डा. वर्षा थापा लगायत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूसँग यहाँको सेवा प्रवाह, भौतिक पूर्वाधार, उपकरण, जनशक्ति तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा विस्तृत जानकारी लिनुभएको थियो ।
डा. थापासँगै प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार ज्ञानु पौड्याललगायत पनि भीम अस्पताल पुग्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij