सोमवार , फाल्गुण २५, २०८२
भैरहवा, २५ फागुन । नेपाली काँग्रेसका नेता आशुतोष मिश्रले हतास नहुन पार्टीका नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आफू काँग्रेस नेता–कार्यकर्ता र जनताकै बीचमा रहेर निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आइतबार मर्चवारी गाउँपालिका–३ स्थित रायपुरमा पार्टीका नेता–कार्यकर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा उहाँले रुपन्देही क्षेत्र नम्बर ४ को विकासका लागि आफू पदमा नभए पनि निरन्तर अघि बढिरहने बताउनुभयो ।
हालै सम्पन्न निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका मिश्रले विगतमा नेपाली काँग्रेसबाट निर्वाचित उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेपछि काँग्रेसको क्षेत्रीय कार्यसमितिका ७० प्रतिशतले एमालेका उम्मेदवारलाई समर्थन गरेको बताउनुभयो । ‘काँग्रेसबाट निर्वाचित केही जनप्रतिनिधिहरुले पनि एमालेका उम्मेदवारलाई समर्थन गरेको पाइयो, केही नेताहरुको नाम लिदै उहाँले भन्नुभयो–‘उहाँहरुमाथि पार्टीले अनुशासनको कारवाही गर्छ । काँग्रेसमा बसेर पार्टीविरुद्ध लाग्ने व्यक्तिहरु रहदासम्म पार्टीको भविष्य रहदैन ।’
आगामी दिनमा पार्टीले दिने जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने उहाँको भनाइ छ । पार्टीले आगामी दिनमा टिकट दिए उम्मेदवार बन्ने र आफूभन्दा योग्य आए समर्थन गरेर अघि बढ्ने मिश्रले बताउनुभयो । ‘म जहाँ छु, त्यही छु, म तपाईहरुबाट टाढा छैन, तपाईहरुकै सल्लाह–सुझाव अनुसार अगाडि बढ्छु, ’नेता मिश्रले भन्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य बासुदेव यादवले पार्टीमा बसेर पार्टीको हितविपरीत कार्य गर्नेमाथि कारवाही हुने बताउनुभयो । उहाँले रुपन्देही–४ मा आशुतोष मिश्रको नेतृत्वमा आफूहरु अगाडि बढिरहने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij