२०८२, फाल्गुण २२ गते

Mar 06 2026 | २०८२, फाल्गुण २२ गते

ज्येष्ठ नागरिकद्वारा समानुपातिकतर्फ मतदान

शुक्रवार , फाल्गुण २२, २०८२

  • 37
    Shares
  • 37
    Shares
  • भैरहवा, २२ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा रहेका सातजना ज्येष्ठ नागरिकले समानुपातिकतर्फ मतदान गरेका छन् । मतदाता नामावलीमा उनीहरूको मतदान केन्द्र अन्यत्र परेकाले शारीरिक अशक्तताका कारण प्रत्यक्षतर्फ मतदान गर्न नसक्ने अवस्था भएपछि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था मिलाइएको हो । उनीहरूले डिभिजन वन कार्यालय रुपन्देहीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    उक्त मतदान केन्द्र ‘क’ का निर्वाचन अधिकृत जगत बहादुर बस्नेतले वृद्धाश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउन विशेष व्यवस्था गरिएको बताउनुभयो । उहाँले मतदान केन्द्र अन्य स्थानमा रहेकाले स्वास्थ्य अवस्थाका कारण प्रत्यक्षतर्फ मतदान गर्न सम्भव नभएपछि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

    वन कार्यालय रुपन्देहीस्थित मतदान केन्द्रमा मतदान प्रक्रिया निरन्तर रूपमा अघि बढिरहेको छ । निर्वाचन अधिकारीका अनुसार उक्त केन्द्रका ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान सुरु भई मतदाता क्रमशः सहभागी भइरहेका छन् ।

    यस मतदान केन्द्रमा प्रत्यक्षतर्फ ३१ जना उम्मेदवार रहेका छन् भने समानुपातिकतर्फ ५८ राजनीतिक दल सहभागी छन् । मतदान केन्द्रमा कुल एक हजार ९७४ मतदाता रहेका छन् जसमध्ये १ हजार ४६ पुरुष र ९२८ महिला मतदाता रहेको शारदाप्रसाद मिश्रले जानकारी दिनुभयो ।

    मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न भएको उहाँले बताउनुभयो । निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारी मिलाइएको उहाँले जानकारी दिनुभयो ।