२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

निर्वाचन सुरक्षामा कडाइ, देशभर सवारी जाँच र २४ जना नियन्त्रणमा

शुक्रवार , फाल्गुण २२, २०८२

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, २२ फागुन । देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी कुल २४ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ। निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लंघन रोक्न कडा निगरानी गरिएको प्रहरीले बताएको हो ।

    त्यसै गरी निर्वाचनको समयमा आचारसंहिताविपरीत तथा अनुमति नलिइ सञ्चालन गरिएका देशभरका २ हजार ५ सय ९७ वटा सवारीसाधनलाई होल्ड गरिएको छ । होल्ड गरिएका सवारीमध्ये २ हजार ३ सय ५१ वटा दुईपांग्रे र २ सय ४६ वटा चारपांग्रे रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

    प्रदेशगत रूपमा काठमाडौं उपत्यकामा ८ सय ३०, कोशी प्रदेशमा ११, मधेश प्रदेशमा १ सय ७९, बागमती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा २ सय ७६, लुम्बिनी प्रदेशमा ८ सय ८७, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा १ सय ८ वटा सवारीसाधन होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    त्यस्तै काठमाडौं उपत्यकाका २ स्थानसहित देशभरका १५ स्थानमा शंकास्पद वस्तु फेला परेको छ । ती शंकास्पद वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनासँग समन्वय गरिएको प्रहरी प्रधान कार्यालयको सूचना शाखाले जनाएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल प्रहरी देशभर प्रभावकारी रूपमा परिचालित भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको कार्यादेशअनुसार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरू उच्च मनोबलका साथ खटिएको प्रहरी प्रधान कार्यालय जनसम्पर्क एवं मिडिया समन्वय शाखाले जनाएको छ ।

    उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै निर्वाचन क्षेत्रमा सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण गरी अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरेर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

    निर्वाचन क्षेत्रको सुरक्षाका लागि निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इएमआइएस), (जिआइएस)सफ्टवेयर, सिसिटिभि निगरानी, ड्रोन निगरानी, वडी वार्म क्यामरा आरटिभिएस (वास्तविक समय भिडियो निगरानी) को डिजिटल माध्यमबाट आधुनिक प्रविधिको प्रयोग गरी प्रत्यक्ष निगरानी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो ।

    प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा जनसम्पर्क एवं मिडिया समन्वय शाखा (केन्द्रीय प्रहरी समाचार कक्ष) ले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।