२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

प्रतिनिधि सभा सदस्य निर्वाचन : रुपन्देहीमा सम्पूर्ण तयारी पूरा

बुधवार , फाल्गुण २०, २०८२

  • 289
    Shares
  • 289
    Shares

  • भैरहवा, २० फागुन । रुपन्देही जिल्लामा निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका सम्पूर्ण तयारीहरु पूरा भएको रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो । निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको उहाँले बताउनुभयो । मतदान केन्द्रहरु निर्माण भइसकेको र केही स्थानमा निर्माण कार्य अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । बस्नेतले निर्धक्कसँग आफूले प्राप्त गरेको मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई आह्वान गर्नुभयो । उहाँले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन विशिष्ट परिस्थितिमा सम्पन्न हुन गइरहेको बताउनुभयो ।

    उहाँका अनुसार मतपत्रलगायतका सामग्रीहरु मतदान अधिकृतहरुले बुझेर लगिसक्नुभएको छ । अस्थायी मतदान केन्द्रसहित ४ हजार ४ सय ४ कर्मचारी खटिनुभएको बस्नेतले जानकारी दिनुभयो । त्योबाहेक पनि मतदान केन्द्रमा सहयोग गर्नका लागि २ हजार २ सय ३ जना स्वयंसेवक खटिनुभएको उहाँको भनाइ छ । सुरक्षाकर्मी प्रयाप्त रुपमा खटिनुभएको उहाँले बताउनुभयो ।

    मतदान केन्द्रमा नेपाल प्रहरी, निर्वाचन प्रहरी र त्यसबाहिरको घेरामा सशस्त्र प्रहरीको टोली तैनाथ रहेको उहाँको भनाइ छ । हरेक मतदान केन्द्रमा प्रत्येक पाँच मिनेटमा पुग्ने हिसाबले सम्बन्धित क्षेत्रहरुमा नेपाली सेना खटिएको उहाँले जानकारी दिनुभयो । निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण कर्मचारीहरु, सुरक्षा अंगहरु अहोरात्र खटिनुभएको बस्नेतले बताउनुभयो ।

    उम्मेदवारहरु, राजनीतिक दलहरुसँग प्रतिनिधिहरुलाई मतगणनास्थलको अवलोकन गराउने, स्थानीयस्तरमा मतदान प्रतिनिधि पठाइदिने, सर्वदलीय बैठक लगायतका कार्य गरिएको उहाँले बताउनुभयो ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसक्नुभएको बताउनुभयो । उहाँले सम्बन्धित मतदान केन्द्रमा निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ३ लाख ४६ हजार २ सय ३ पुरुष, ३ लाख २६ हजार ३ सय ११ महिला र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् ।