२०८२, फाल्गुण २० गते

Mar 04 2026 | २०८२, फाल्गुण २० गते

उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

बुधवार , फाल्गुण २०, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ ।
    प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशा अनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिनुभएको छ।

    सुरक्षा निकायको विश्लेषणअनुसार विगतको तुलनामा वर्तमान निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिमा हुन लागेको छ । मतदान केन्द्र तथा मतदानस्थलको संख्या वृद्धि, अति संवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू, र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि प्रहरीले तयारीलाई सुदृढ बनाएको सुरक्षा विज्ञहरू बताउँछन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार–अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । न्यूनतम स्रोत–साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति खटाइएको छ । 

    कतिपय दुर्गम क्षेत्रमा सवारीसाधनको अभावका बाबजुद सुरक्षाकर्मी पैदल यात्रामार्फत  खटिएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ । पुराना हतियार तथा सवारीसाधनका सीमितताबीच पनि उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु संगठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ ।

    प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार एआईजीस्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा एसएसपी तथा एसपीको नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित गरिएको छ ।

    ‘जेएनजी आन्दोलन’ पछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु नेतृत्वका लागि चुनौतीपूर्ण भए पनि वर्तमान नेतृत्वले संगठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाउन सफल भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन । प्रहरी महानिरीक्षक कार्कीले आफ्नो कार्यकालको प्रारम्भिक १ सय दिनमै संगठनभित्र अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्ने वातावरण निर्माण गर्नुभएको समाजशास्त्री शारदा बेलबासेले बताउनुभयो । वरिष्ठदेखि कनिष्ठ प्रहरीसम्म समान व्यवहार, सेवा सुविधा सुधार र राष्ट्रसेवाप्रति प्रतिबद्धताको भावना विकास गर्न नेतृत्वले जोड दिएको बताइएको छ ।

    त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक तथा सुरक्षा विश्लेषक उमेशचन्द्र रिजालले पछिल्लो चरणमा प्रहरीले जनताको पक्षमा गरेका कामहरू सकारात्मक र विश्वसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘प्रतिकूल राजनीतिक अवस्था, सुरक्षा चुनौती र संगठनभित्रको मनोवैज्ञानिक दबाबका बीच पनि नेतृत्वले संगठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षामा केन्द्रित गर्नु सुखद संकेत हो ।’ उहाँका अनुसार संगठनका सदस्यहरू असमञ्जस र मनोवैज्ञानिक दबाबमा रहेका बेला नेतृत्वले देशव्यापी अनुगमन, प्रत्यक्ष उपस्थिती र निरन्तर निर्देशनमार्फत मनोबल उच्च बनाउने प्रयास गरेको देखिन्छ । ‘यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु नेपाल प्रहरीका लागि ठूलो परीक्षा हो,’उहाँले थप्नुभयो ।

    वरिष्ठ अधिवक्ता शिव गौडेलले प्रहरी संगठनले विगतका आन्दोलन र द्वन्द्वका कठिन चरणहरू पार गर्दै देश र जनताको सुरक्षामा निरन्तर योगदान दिदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नयाँ नेतृत्वसँगै संगठन पुनः सशक्त रूपमा उभिनु सकारात्मक संकेत हो ।

    प्रहरी प्रधान कार्यालयले पछिल्लो समय प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणाली सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारका लागि तयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ । समय र परिस्थितिअनुसार संगठनलाई परिमार्जन गर्दै लैजाने रणनीतिअनुसार प्रहरी अघि बढिरहेको दावी गरिएको छ । देशभर एआईजी, एसएसपी तथा अन्य वरिष्ठ अधिकृतहरू प्रदेश र जिल्लामा खटिएर निर्वाचन सुरक्षामा सक्रिय रहेका छन् । उच्च मनोबल, स्पष्ट रणनीति र संगठनात्मक एकताका साथ नेपाल प्रहरी लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा दृढतापूर्वक उभिएको सुरक्षा निकायको दावी छ ।

    निर्वाचन जस्तो संवेदनशील राष्ट्रिय कार्यलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा प्रहरी संगठनले प्रतिकूल अवस्थालाई अवसरका रूपमा रूपान्तरण गर्दै आफ्नो दायित्व निर्वाह गरिरहेको निष्कर्ष सुरक्षा क्षेत्रका जानकारहरूको छ । यो अवस्थामा प्रहरीले देशको सुरक्षाको जिम्मेवारी सम्हालेर निर्वाचनमा नेपाली सेना सशस्त्र प्रहरीसँगको सम्बन्धमा अगाडि बढ्नु नेपाल प्रहरीको नेतृत्वको सबल पक्ष भएको जनकारहरू बताउँछन् ।