२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

चुन्नलाई चिनौं

सोमवार , फाल्गुण १८, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • भैरहवा । समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता मानिस जन्मन्छन्, जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुनुहुन्छ, चुन्नप्रसाद शर्मा पौडेल ।

    बागलुङमा जन्मिएर, बागलुङमै हुर्किएर, रुपन्देहीको माटोमा भिज्नुभएका पौडेलले देश विदेशमा आफ्‌नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । जसले व्यक्तिगत सफलताभन्दा माथि उठेर समाज, उद्योग र राष्ट्र निर्माणलाई जीवनको ध्येय बनाउनु भएको छ ।

    वि.सं. २०२२ साल असार २७ गते बागलुङको हुग्दिशिरमा जन्मिनुभएका पौडेल, बाबु पशुपति शर्मा र आमा पार्वती पौडेल शर्माबाट नैतिकता, अनुशासन र कठोर परिश्रमको संस्कार लिएर हुर्किनुभयो । प्रारम्भिक शिक्षा गुल्मीको शान्तिपुरबाट सुरु गर्नुभएका पौडेलले अध्ययनलाई निरन्तरता दिँदै उच्च शिक्षाका लागि भारतको बनारससम्म यात्रा गर्नुभयो ।

    बनारसको आध्यात्मिक र प्राज्ञिक वातावरणले उहाँको सोचलाई अझै फराकिलो बनायो । जीवनलाई केवल व्यक्तिगत उन्नतिमा सीमित नराखी समाजप्रति जिम्मेवार बन्नुपर्ने चेतना त्यहीँबाट सशक्त बन्यो । शिक्षा पूरा गरी गाउँ फर्किएपछि उहाँले २०३८ सालमा गाउँकै विद्यालयमा शिक्षण पेशाबाट जीवनको यात्रा अगाडि बढाउनु भयो । एक शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने उहाँको प्रयास प्रशंसनीय रह्यो । करिव ४ वर्षको अध्यापनपछि उहाँले बुझ्‌नुभयो, राष्ट्र निर्माणमा आर्थिक सशक्तिकरणको भूमिका अझ व्यापक छ । त्यसपछि भने उहाँले उद्योग–व्यवसायमा पाइला टेक्ने सोच बनाउनुभयो । २०४९ सालमा रुपन्देहीको संगमपथमा सानो पसलबाट सुरु गरेको यात्रा आज बहुआयामिक व्यावसायिक समूहमा परिणत भएको छ ।

    उहाँले यशोदा फूड प्रोडक्स उद्योगबाट उत्पादित विभिन्न ब्राण्डका नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनु भएको छ । बुटवल हस्पिटल प्रा.लि. मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गरिएको छ भने ह्यात प्यालेस (५ तारे होटल) जस्ता परियोजनाले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुगेको छ । आज उहाँका उद्योगहरूमा ५ हजार भन्दा बढी नेपालीले रोजगारी पाएका छन् । हजारौँ परिवारको चुलो बाल्ने आधार बन्नु उहाँको व्यवसायको सबैभन्दा ठूलो उपलब्धि रहेको स्थानिय मतदाताहरु बताउनुहुन्छ । त्यतिमात्र होईन्, त्यस्तै उहाँसंग हजारौं व्यवसायिक सारथी छन् । 
    शर्माको व्यक्तित्व केवल उद्योगीको रूपमा सीमित छैन । महामारी, प्राकृतिक विपत्ति वा सामाजिक संकटका बेला उहाँले अग्रपंक्तिमा रहेर सहयोग पुर्‍याउनु भएको छ ।  स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स सहयोगदेखि विभिन्न राहत कार्यक्रमसम्म उहाँका पहलहरूले मानवीय संवेदनशीलता देखाउँछन् । उहाँका लागि व्यवसाय केवल नाफाको माध्यम होइन, समाजसेवाको आधार हो । यही सोचले उहाँलाई समाजमा विश्वसनीय र लोकप्रिय बनाएको छ ।

    ‘चुनप्रसाद शर्मा पौडेल’ विकास र समृद्धिको स्पष्ट दृष्टिकोणसहित सार्वजनिक जीवनमा सक्रिय हुनुहुन्छ । उहाँलाई विश्वास छ, ‘उद्योगले हजारौंलाई रोजगारी दिन सक्छ, तर सही नीतिले सिंगो देशको भविष्य बदल्न सक्छ ।’ उहाँको प्राथमिकता स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशमै रोजगारी सिर्जना, युवा उद्यमशीलताको विकास र पारदर्शी शासन व्यवस्था हो, रुपन्देही क्षेत्र नम्बर २ का मतदाता समेत रहनु भएका स्थानिय गोपाल पाण्डेले भन्नुभयो ।

    उहाँले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र युवालाई विदेश पलायनभन्दा स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्दै आउनु भएको छ । २०४० सालमा उमादेवी शर्मासँग वैवाहिक जीवनमा बाँधिनु भएका शर्मा हाल बुटवल उपमहानगरपालिका–११ का स्थायी बासिन्दा हुनुहुन्छ ।

    छोराछोरी प्रशन्न, प्रशान्त र प्रतिमा सहित उहाँ पारिवारिक मूल्य र एकतालाई जीवनको मूल शक्ति मान्नुहुन्छ । परिवारभित्रको मेलमिलाप र सहकार्य नै समाजप्रतिको ठूलो जिम्मेवारी सम्हाल्न आत्मविश्वास दिने आधार भएको उहाँको बुझाई छ । चुनप्रसाद एक साधारण परिवेशबाट उठेर असाधारण उपलब्धि हासिल गर्ने व्यक्तित्वको पहिचान बनाउन भएको छ ।

    शिक्षण, उद्योग, समाजसेवा र सार्वजनिक जीवन, यी सबै क्षेत्रमा उहाँको कर्म, इमानदारी र दृष्टिकोणको समन्वय प्रस्तुत गरेको छ । उहाँको जीवनकथा केवल व्यक्तिगत सफलताको कथा होइन, सम्भावनाको पनि कथा हो, जहाँ परिश्रम, प्रतिबद्धता र सकारात्मक सोचले परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिन्छ ।

    नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहनु भएका चुन्नप्रसादलाई आसन्न प्रतिनीधि सभा निर्वाचनमा काँग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उम्मेद्वार बनाएर चुनावी मैदानमा होमिनु भएको छ । सबैसंग मिलनसार र सरल स्वभावका चुन्नप्रसाद भन्नुहुन्छ – ‘म कुनै दलमा आस्थावान भएपनि सामाजिक तथा व्यवसायिक जीवनमा कसैलाई विभेद गरेको छैन, यो निर्वाचनमा पनि सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’ उहाँलाई नेपाली काँग्रेसले मात्रै होईन, सबै दलमा आस्था राख्ने व्यक्तिले दिएको सद्भाव र समर्थनले संसद छिर्ने बाटो सहज बनाईदिएको विश्वेषण गर्न थालिएको छ । 
    रुपन्देही क्षेत्र नम्बर २ का बिभिन्न वडाहरुमा गरिएको सर्वेक्षणमा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले अगाडि रहेको देखिएको छ । परिवर्तनको पक्षमा रहेका मतदाताले अहिलेको अबस्थामा नेपाली कांग्रेस र कांग्रेसले उठाएका उम्मेदवार चुन्नप्रसादलाई निर्वाचित गराउने बताएका छन् । 
    ….