२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

आइजीपी कार्कीका ‘सुनौलो १०० दिन’

सोमवार , फाल्गुण १८, २०८२

  • 142
    Shares
  • 142
    Shares
  • भैरहवा, १८ फागुन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो कार्यकालको सुनौलो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि उहाँले प्रहरी प्रधान कार्यालयले गरेका १०० दिनका प्रगति सार्वजनिक गरिएको हो ।

    वि.सं. २०८२ कार्तिक २७ गतेदेखि सम्हाल्नुभएका ३३ औं प्रहरी महानिरीक्षक कार्कीले संगठनलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री तथा पूर्णतः जनमुखी र नागरिकमैत्री बनाउने प्रतिबद्धतासहित अघि बढ्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    कार्कीले नेतृत्व सम्हालेको छोटो अवधि अर्थात् १०० दिनभित्रै उहाँले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण तथा वैज्ञानिक अपराध अनुसन्धान पद्दतिको संस्थागत अवलम्बनमार्फत संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गर्नुभएको प्रहरी प्रधान कार्यालयको सूचना शाखाले जनाएको छ ।
    अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँगको निरन्तर समन्वयबाट अनुभव, ज्ञान र सुझाव आत्मसात गर्दै संस्थागत निरन्तरता र सन्तुलित नीति निर्माणमा जोड दिनुभएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

    यसले संगठनलाई स्थायित्व, विश्वास र दिगोपनतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ । सुशासन, आन्तरिक निगरानी प्रणालीको प्रभावकारिता, सेवा प्रवाहमा पारदर्शिता र नागरिकमैत्री व्यवहारलाई उच्च प्राथमिकतामा राख्दै उत्तरदायित्व संस्कृतिको विकास तथा कार्यसम्पादन मूल्यांकन प्रणाली सुदृढीकरण गरिएको छ । डिजिटल रूपान्तरणलाई संस्थागत दिशानिर्देशका रूपमा अघि बढाइएपछि प्रहरी–नागरिक सम्बन्ध विश्वास, सम्मान र सहकार्यमा आधारित बन्दै गएको जनाइएको छ ।

    पदभार ग्रहणपश्चात् ‘सुनौलो १०० दिन’ का रूपमा उल्लेख गरिएको अवधिमा जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापनका लागि ‘कार्यसम्पादन मूल्यांकन मार्गदर्शन’ कार्यान्वयनमा ल्याइएको सार्वजनिक गरिएको सुनौलो १०० दिनको प्रगति विवरणमा देखिएको छ ।

    प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीका लागि आकस्मिक सहुलियत कर्जा प्रवाह प्रक्रिया पूरा गरी अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याइएको छ । राशन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ गतेदेखि लागू हुने गरी तीन प्रकारका सामग्री थप गरिएको छ । सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न गरिनुका साथै ‘प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा’ विषयमा रणनीतिक सम्मेलन आयोजना गरिएको प्रहरी प्रधान कार्यालयको सूचना शाखाले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयमा कृत्रिम बुद्धिमत्ता तथा एड्भान्स एनालिटिक्स सेल स्थापना गरिएको छ भने विभिन्न प्रदेशका ३७ युनिटको अनुगमन गरी आवश्यक निर्देशन दिइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सातदोबाटो, बौद्ध, कोटेश्वरलगायत स्थानमा सात प्रहरी युनिट तथा सेवा केन्द्र भवन उद्घाटन गरिएको छ भने देशभर १२ प्रहरी कार्यालयका लागि जग्गा प्राप्त गरिएको छ ।

    अपराध अनुसन्धान र नियन्त्रणतर्फ जघन्य तथा गम्भीर प्रकृतिका अपराधमा करिब शतप्रतिशत सफल अनुसन्धान गरिएको भएको प्रहरी प्रधान कार्यालयको दाबी छ ।
    कर्तव्य ज्यानसम्बन्धी १२३ घटनामा १८८ अभियुक्त पक्राउ परेका छन् भने जबरजस्तीकरणी तथा उद्योगका ४७५ घटनामा ४४५ अभियुक्त कानूनी दायरामा ल्याइएको छ । फैसला कार्यान्वयनअन्तर्गत १९६० वर्ष कैद र रु. ३८ करोड ३६ लाख २७ हजार ६ सय ४९ जरिवाना असुलउपर गर्न बाँकी ५७८१ फरार प्रतिवादी पक्राउ गरिएको छ । 

    लागूऔषध सम्बन्धी कसुरमा २४५५ जनाविरुद्ध १५४८ मुद्दा दर्ता भई १७ हजार १५३ केजी गाँजा, ४२० केजी चरेस, १० केजी हेरोइन, पाँच केजी अफिम, पाँच केजी पोल्याण्ड, २१ ग्राम कोकिन तथा ठोस र तरल अवस्थाका ४०५१०८ परिमाण प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले भन्नुभयो–‘साना–ठूला गरी २५५ नाल अवैध हतियार बरामद गरिएको छ । चार हजारभन्दा बढी हराएका व्यक्तिलाई परिवारको जिम्मा लगाइएको छ ।’

    सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत २७ हजार ५२८ कार्यक्रम सञ्चालन भई १२ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन् । उपत्यकाका तीनवटै जिल्लामा ‘हाम्रो प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले सरुवा प्रणाली व्यवस्थित गर्दै दरबन्दीमा हाजिर भएपछि मात्र दज्र्यानी चिन्ह प्रदान गर्ने नीति लागू गरेको जनाएको छ । प्रत्येक महिना प्रहरी महानिरीक्षकले अमर तथा शहीद प्रहरी परिवारसँग भेटघाट तथा उनीहरूको आत्मबल उच्च राख्नका लागि अगाडि सारिएको केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिनुभयो  । 

    सुनौलो सय दिनको अवधिमा मोरङको बुढीगंगा गाउँपालिका–१ र बाराको महागढीमाई नगरपालिका–१० मा विपन्न समुदायलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ भने वीरगञ्जस्थित मानवसेवा आश्रम र कपिलवस्तुको वाणगंगा नगरपालिका–२ स्थित गुरुकुल, कैलाश आश्रममा खाद्यान्न सहयोग गरिएको छ । संगठनको व्यावसायिकतामा बाह्य प्रभाव पार्ने गतिविधि तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको काफ्लेको भनाइ छ ।

    यो अवधिमा विभिन्न निकायबाट प्राप्त २४० सवारी साधन मातहतमा वितरण गरिएको छ । करिब रु. ५९ करोड ९५ लाख ८२ हजार ४३६ बराबरको सुनचाँदी, भन्सार छलीका सामान, काठ, हुण्डी, स्रोत नखुलेको रकम, नदीजन्य पदार्थ, अवैध मुद्रा र पशुपन्छीलगायत राजस्व चुहावटसम्बन्धी सामग्री नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपशमशेर जानकारी दिनुभयो ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत आइजीपी कार्कीले आफ्ना स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा गुल्मीको मालिका गाउँपालिका–७ स्थित देविस्थान माध्यमिक विद्यालयमा रु. ५ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत अख्तियार प्रमुखसहित उच्चपदस्थ १० जनालाई ज्यान मार्ने धम्की दिने ३३ वर्षीय प्रकाश पाठकलगायत विभिन्न मुद्दाका तीन प्रतिवादीलाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीको प्रगति विवरणमा देखिन्छ ।  

    प्रहरी प्रधान कार्यालयले जनाए अनुसार विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा देशभर ४५६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । ट्राफिक प्रहरीको वेबसाइटमार्फत हराएका सवारीसाधन अभिलेखीकरण प्रणाली सञ्चालनमा ल्याई सेवाग्राही स्वयंले अनलाइन निवेदन दिन सक्ने तथा विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको विवरण सार्वजनिक पहुँचमा पुग्ने गरी वेबसाइट परिष्कृत गरिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा योजना तर्जुमा गरी विभिन्न सरोकारवाला निकाय, पूर्व प्रहरी अधिकारी र सम्बन्धित पक्षसँग समन्वय तथा सहकार्य सुदृढ गरिएको जनाएको छ । कार्तिक २७ देखि फागुन ८ सम्मको १०० दिनलाई संगठनात्मक सुधार, सुशासन र परिणाममुखी कार्यसम्पादनको सशक्त अध्यायका रूपमा लिइएको छ । 

    महानिरीक्षक कार्कीको नेतृत्वमा अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई मजबुत बनाउँदै अपराध नियन्त्रणमा कठोरता र सेवा प्रवाहमा संवेदनशीलताको सन्तुलन कायम गरिएको जनाइएको छ । यी उपलब्धीले संगठनको व्यवसायिकता अभिवृद्धि गर्नुका साथै भविष्यमा थप सुदृढ, प्रविधिमैत्री र जनविश्वासयुक्त प्रहरी संगठन निर्माणको आधारशिला सुदृढ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।