आइतवार , फाल्गुण १७, २०८२
बुटवल, १७ फागुन । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ चुनाव प्रचारप्रसार तथा निर्वाचन परिचालन समितिले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । चुनाव प्रचारप्रसारका समय अन्तिम चरणमा पुग्दा रूपन्देही–२ मा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रीता सेन ओलीसहितको टोलीले घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको हो ।
कतै गाडीमा त कतै पैदल घरदैलो गर्ने क्रममा मतदाताले उम्मेदवारहरू पौडेल र वलीलाई फूलमाला र टीका लगाएर जीतको शुभकामना दिए । घरदैलो कार्यक्रमको ११ औं दिन आज तिलोत्तमा नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को घरदैलोका क्रममा सो वडाका मतदाताहरूले उम्मेदवारहरूलाई फूलमाला र टीका लगाएर स्वागत गर्नुका साथै जितेको शुभकामना दिनुभएको हो ।
चुनावको मिति नजिकिदै गर्दा मतदाताले देखाएको सद्भाव, शुभकामना, सुझाव र सल्लाहले कांग्रेस उम्मेदवार पौडेल पनि चुनाव जितिनेमा विश्वस्त देखिनुहुन्छ । तिलोत्तमाको घरदैलोका क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता–कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताउनुभयो ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका सानोतिनो समस्या देखि लिएर दीर्घकालीन समस्या समेत खुलेर राखेका थिए । उम्मेदवार पौडेलले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गरी कार्यान्वयन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए । उम्मेदवार पौडेलले ‘विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्दै आफू परिणाममुखी कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
त्यस क्रममा नेपाली कांग्रेसका सयौं नेता–कार्यकर्ताहरूको सहभागीता रहेको कांग्रेस रूपन्देही–२ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रजापाल गिरीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij