२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव : बासुदेव घिमिरे

शनिवार , फाल्गुण १६, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, १६ फागुन । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । 

    चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पुग्नुभएका घिमिरेले किसानले हाल भोगिरहेका समस्या समाधानलाई आफूले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । 

    कृषि क्षेत्रको समग्र सुधार बिना स्थानीय अर्थतन्त्र बलियो बन्न नसक्ने उहाँको भनाइ छ । घरदैलोका क्रममा किसानसँग प्रत्यक्ष संवाद गर्दै उहाँले मलखाद, गुणस्तरीय बीउबिजन, भरपर्दो सिंचाईको सुविधा, बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य नपाउँदा किसानले वर्षौंदेखि समस्या भोग्दै आएको उल्लेख गर्नुभयो । 

    ‘किसानले दुःख गरेर उत्पादन गरेको बालीले लागतसमेत उठाउन नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘राज्यले समयमै मल उपलब्ध गराउने, आधुनिक प्रविधि विस्तारमा सहजीकरण गर्ने र बजार सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ ।’ 

    घरदैलोका क्रममा स्थानीय किसानहरूले मल र सिँचाई सुविधाको अभाव र बिचौलियाको चलखेलका कारण आफूहरू मारमा परेको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिदै घिमिरेले आफू निर्वाचित भएमा सबै कृषि उपजको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न, स्थानीयस्तरमा चिस्यान केन्द्र स्थापना गर्न तथा कृषि सुलभ कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

    उहाँले कृषि उत्पादनलाई बजारीकरणसँग जोड्दै स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना गर्नुपर्ने धारणा पनि राख्नुभयो । ‘कृषिलाई सम्मानजनक पेशा बनाउने वातावरण तयार नगरेसम्म युवाहरू विदेशिन रोकिँदैनन्,’उहाँले भन्नुभयो । घरदैलो कार्यक्रममा पार्टी कार्यकर्ता, युवा तथा किसानहरूको सहभागीता  थियो ।