शनिवार , फाल्गुण १६, २०८२
भैरहवा, १६ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहमद खाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा सरकारसँगै उद्योगी–व्यवसायीले गरेको लगानीमा जोखिममा परेको बताउनुभएको छ । उहाँले अहिले सम्पूर्ण राजनीतिक दलको मुद्दा गौतमबुद्ध विमानस्थल बनेको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा आयोजना गरेको उद्योगी–व्यवसायीहरुसँग छलफल कार्यक्रममा बोल्नुहुँदै उम्मेदवार खाँले उद्योगी–व्यवसायीका समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ‘सबै पार्टीले विमानस्थल सञ्चालनबारे आफ्ना प्रतिवद्धतापत्रमा राखेका छन् । विमानस्थल सञ्चालन गर्नैपर्छ तर, हिजो दुईतिहाईको सरकारले दलले पनि चलाउन सकेन, सरकारमा रहेको बेला विमानस्थल सञ्चालन गर्ने कोशिष भयो कि भएन, त्यो बुझ्न जरुरी छ, ’उहाँले भन्नुभयो ।
विमानस्थल सञ्चालन भए हजारौं युवाले अर्थतन्त्र चलायमान हुने र हजारौं युवाले रोजगारी पनि पाउने अवस्था हुने उहाँको भनाइ छ । विमानस्थल नचल्दा होटल व्यवसायीले निकै मारमा परेको उहाँले बताउनुभयो । खाँले व्यवसायीको समस्या बुझ्ने र समस्या समाधानका लागि पहल गर्न सक्ने उपयुक्त उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले जनताको सेवा गर्ने दृढ संकल्पका साथ आफू जनतामाझ आएको बताउनुभयो ।
व्यवसायी दर्पण श्रेष्ठले नेकपा सरकारमा हुँदा के गर्यो भन्ने जनताले प्रश्न गरिरहेकोले त्यसको समीक्षा आवश्यक रहेको बताउनुभयो । अर्का व्यवसायी गिरिशचन्द्र त्रिपाठीले नेकपाले रुपन्देही–३ कै स्थानीयलाई उम्मेदवार बनाएको बताउनुभयो । उहाँले जेनजीका पुस्ताका माग पूरा गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
खाद्यान्न व्यवसायी विरेन्द्र ज्ञवालीले विमानस्थल सञ्चालन गर्ने सबैले प्रतिवद्धता जाहेर गरेको बताउनुभयो । उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्न जाँदा प्रवेश शुल्क किन लिइएको भन्दै प्रश्न गर्नुभयो ।
उद्योगी चन्द्रमणि अधिकारीले रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले मधेश आन्दोलनमा पनि बेलहिया नाका बन्द नभएको जसका कारण नागरिकलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा फाइदा पुगेको बताउनुभयो ।
पर्यटन व्यवसायी किशोर जोशीले भैरहवालाई पर्यटनको हब बनाउन के योजना छ भन्दै प्रश्न गर्नुभयो । उहाँले लगानीको सुरक्षा हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
होटल व्यवसायी यादव प्रसाद आचार्यले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय र व्यवसायीबीच समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन व्यवसाय अपरिहार्य रहेको बताउनुभयो ।
पर्यटन व्यवसायी संजीव जोशीले भैरहवालाई पर्यटनको हब बनाउन कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन), नेताहरु मनिष कुमार जोशी, अनिल कुमार ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij