शनिवार , फाल्गुण १६, २०८२
भैरहवा, १६ फागुन । रुपन्देही क्षेत्र नम्बर ५ बाट नेकपा ९एमाले० का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार खिमलाल भट्टराईले आफ्नो मुख्य एजेण्डा योजनाबद्ध विकास, जनसेवा र जनताको जीवनमा रुपान्तरण रहेको बताउनुभएको छ ।
मतदातासँग प्रत्यक्ष भेटघाट गरिसकेको उल्लेख गर्दै भट्टराईले गाउँ–गाउँमा उत्साहजनक उपस्थिति र नागरिकको अगाध स्नेह, माया तथा विश्वास पाएको दावी गर्नुभयो । उहाँले आफूले अघि सारेका एजेण्डामा जनता विश्वस्त देखिएको र आफ्नो नेतृत्वलाई स्वीकार गरेको अनुभूति भएको बताउनुभयो ।
नेकपा (एमाले) का केन्द्रीत सदस्य समेत रहनुभएका भट्टराईले विगतमा विकासका काम परम्परागत शैलीमा, जनताले मागेका साना–साना योजनामै सीमित भएको टिप्पणी गर्नुभयो । अब यसरी मात्रै क्षेत्रको समग्र विकास सम्भव नहुने भन्दै उहाँले योजनाबद्ध र दीर्घकालीन दृष्टिकोणसहित विकास अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार सांसदको भूमिका नीति तथा कानून निर्माणसँगै विकासका ठूला कार्यक्रम अघि बढाउने भएकाले साना पूर्वाधारदेखि राष्ट्रिय महत्वका परियोजनासम्म समन्वयात्मक ढंगले अघि बढाउनुपर्छ । घरअगाडिको बाटोको खाल्टो पुरिनु पनि आवश्यक भए पनि क्षेत्रको दीर्घकालीन समृद्धिका लागि ठूला परियोजनामा जानुपर्ने उहाँले बताउनुभयो ।
विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्र अझै पनि गरीबी, अशिक्षा र पछौटेपनको चक्रमा फसेको उल्लेख गर्दै भट्टराईले बस्ती विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार सरकारको ध्यान अहिलेसम्म मायादेवी मन्दिर परिसर र गुरुयोजना कार्यान्वयनमै केन्द्रीत भएको देखिन्छ । तर, अब आसपासका बस्ती र स्थानीय जनताको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउन आवश्यक छ । लुम्बिनीको वास्तविक विकास भनेको यहाँका जनताको सुख, खुसी र जीवनमा परिवर्तन ल्याउनु नै भएको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुरक्षा प्रणालीलाई सुदृढ गर्दै समग्र लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्य पनि उहाँले अघि सार्नुभएको छ । पर्यटन प्रवर्द्धनमार्फत लुम्बिनीले राष्ट्रिय अर्थतन्त्रमा निर्णायक योगदान गर्न सक्ने उहाँको विश्वास छ । सही ढंगले पर्यटन विकास गर्न सके लुम्बिनीले नेपाललाई समृद्धितर्फ अघि बढाउन सक्ने उहाँले बताउनुभयो ।
लुम्बिनी नजिकै रहेको कक्रहवा नाकालाई पर्यटकीय भन्सार नाकाका रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । डिजिटल लुम्बिनी अवधारणाअन्तर्गत ‘फ्री वाइफाइर्’ जोन स्थापना, आधुनिक सुरक्षा प्रणाली र प्रविधिमैत्री व्यवस्थापनमार्फत पर्यटकमैत्री वातावरण निर्माण गरिने उहाँले उल्लेख गर्नुभयो । परम्परागत ढंगले मात्र पर्यटक भित्र्याएर अपेक्षित उपलब्धि हासिल नहुने भन्दै नयाँ सोच र प्रविधि प्रयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
निर्वाचन प्रतिष्पर्धाबारे बोल्दै भट्टराईले परम्परागत तथ्यांक र वर्तमान अवस्थालाई आधार मान्दा नेपाली काँग्रेससँग मुख्य प्रतिष्पर्धा हुने आंकलन गर्नुभयो । सामाजिक सञ्जालमा केही दल बलियो देखिए पनि फिल्डमा त्यस्तो अवस्था नदेखिएको उहाले दावी गर्नुभयो । कतिपय स्थानमा दल परिवर्तनका घटना भए पनि समग्र रूपमा एमाले बलियो अवस्थामा रहेको उहाँको भनाइ छ ।
क्षेत्रका साना–ठूला सबै समस्या समाधानका लागि समन्वयात्मक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भट्टराईले आफू त्यसका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij