शनिवार , फाल्गुण १६, २०८२
भैरहवा, १६ फागुन । जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार भोपेन्द्र प्रसाद यादवले क्षेत्र नम्बर ४ मा जनमत र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने दावी गर्नुभएको छ । उहाँले काँग्रेसको उम्मेदवार आफ्नो मुख्य प्रतिष्पर्धी रहनुभएको दावी गर्नुभयो ।
फागुन २१ गते हुने निर्वाचनमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका पार्टी प्रतिष्पर्धामै नआउने उहाँको भनाइ छ । पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै यादवले भन्नुभयो–‘रुपन्देही क्षेत्र नम्बर ४ मा यसपटक जनमत र काँग्रेसबीच टक्कर हुँदैछ ।’
आफू किसानको नेता नभइ छोरा भएको उहाँले बताउनुभयो । जनमत पार्टीले किसान र गरीबको सरकार बनाउन चाहेको उहाँको भनाइ छ । जनमत पार्टीका राष्ट्रिय सचिव समेत रहनुभएका यादवले २०७९ सालमा आफूले रुपन्देही–४ बाट झण्डै १६ हजार मत पाउनुले पनि जनता आफूलाई जिताउन आतूर रहेको बुझ्न सकिने बताउनुभयो ।
‘मतदाताले रुपन्देही–४ मा परिवर्तनको चाहना राख्नुभएको छ । यहाँ जनमत पार्टीको संगठन बलियो छ । सबै जातजातिको मलाई साथ र सहयोग छ, विगतमा निर्वाचन जितेको काँग्रेसले यो क्षेत्रको विकासका लागि काम गर्न सकेन, त्यसकारण एकपटक जनमत पार्टीलाई अवसर दिन म आग्रह गर्दछु, ’उहाँले भन्नुभयो ।
क्षेत्र नम्बर ४ मा दवाई, पढाई, सिचाईको व्यवस्था हुन नसकेको नेता यादवले बताउनुभयो । ‘मुख्य गरी यहाँ किसान मर्कामा परेका छन् । एक बोरा मलका लागि लाठी-डण्डा खानुपर्छ । व्यवस्थित सडक, दमकल र डिग्री कलेज छैन । विगतमा यहाँबाट निर्वाचित भएका नेताहरुले जनताको पक्षमा काम गर्न सकेनन्, तपाई यसअघि नै जित्नुपर्दथ्यो भन्ने कुरा घरदैलोमा सुनिरहेको छु, जनताबाट राम्रो रेन्सपोन्स आइरहेको छ, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij