शनिवार , फाल्गुण १६, २०८२
भैरहवा, १६ फागुन । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाको पक्षमा स्थानीय मतदाताहरूको समर्थन बढ्दो देखिएको पार्टीको दावी छ ।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव संगाल्नुभएका डा. थापाले अब संसद्मा पुगेर नीतिगत सुधार र देशको समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवाज यतिबेला रुपन्देहीका बस्ती–बस्तीमा सुनिन थालेको रास्वपाका नेताहरु बताउँछन् ।
घरदैलो अभियानका क्रममा थापाको टोली शुक्रबार शुद्धोदन गाउँपालिका पुगेको थियो । गाउँपालिकाको वडा नम्बर ४ निवासी स्थानीय शोभा कुमारी आलेले विगतमा सही नेता छान्न नसक्दा देशले दुःख पाएको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार अबको समय परिवर्तनको हो । ‘हिजोका दिनमा हामीले नेता चुन्न नजान्दा देश यो अवस्थामा पुग्यो ।’
त्यस्तै शुद्धोदन गाउँपालिका वडा नम्बर ७ निवासी दिवेश चौधरीले पनि डा. थापाको उम्मेदवारीलाई आशाको रूपमा हेर्नुभएको छ । संसद्मा गएर राम्रो सेवा र नीतिहरू सुचारु गर्न थापाको उपस्थितिले ठूलो अर्थ राख्छ ।’
रुपन्देही–३ का विभिन्न टोल र वस्तीहरूमा डा. थापाको चुनावी अभियानलाई स्थानीयले उत्साहजनक साथ दिइरहेका छन् । देशको जर्जर अवस्थालाई सुधार्न ‘जान्नेलाई छान्ने’ मर्म अनुसार रास्वपाले अघि सारेका डा. थापाले स्वास्थ्य सुधार, सुशासन र युवा स्वरोजगारलाई आफ्नो मुख्य एजेण्डा बनाउनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij