शुक्रवार , फाल्गुण १५, २०८२
रुपन्देही, १५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक प्रक्षेपण गलत मनसायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने बताउनुभएको छ ।
रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपाल निकट पत्रकारसँगको अन्तरसंवादमा उहाँले रुपन्देही क्षेत्र नम्बर २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा योजनाबद्ध रुपमा आएका प्रक्षेपण वास्तविक नभएको र वास्तविक प्रक्षेपण केही दिनमा आउने दावी गर्नुभयो । ‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् । तर, ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपणहरू फेल खानेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्ने छ भन्ने माइन्डसेड गरेर बसेका छन् जनताको त्यो परिवर्तन गर्न निकै कठिन छ’ पौडेलले भन्नुभयो–‘त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला । तर, भरपर्दो राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरु छैनन् ।’
प्रतिष्पर्धी दल तथा उम्मेदावा कसैको आलोचना नगरी उहाँले एमाले राष्ट्रिय राजनीतिको मियो भएकाले ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने दावी गर्नुभयो । पौडेलले ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने दावी गर्नुभयो । पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो–‘निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वास छ । एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको अवस्था छ ।’
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास रहेको बताउनुभयो । उहाँले जतिसुकै षडयन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने बताउनुभयो ।
पौडेलले रुपन्देही क्षेत्र नम्बर २ मात्र होइन पाँचवटै क्षेत्रमा एमाले पहिलो बन्ने दावी गर्नुभयो । ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नम्बर ४ केही कमजोर देखिन्थ्यो । तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुनः उदय हुँदैछ,’ उहाँले भन्नुभयो । ‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिंगो लुम्बिनी प्रदेशलाई नै नमूना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिंगे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भन्नुभयो ।
पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एकआपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जीत अपरिहार्य हुने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij