२०८२, फाल्गुण १४ गते

Feb 26 2026 | २०८२, फाल्गुण १४ गते

एमाले सचिव विश्वकर्माको नेतृत्वमा रुपन्देहीका सबै निर्वाचन क्षेत्रको अनुगमन

बिहिवार , फाल्गुण १४, २०८२

  • 151
    Shares
  • 151
    Shares
  • रुपन्देही, १४ फागुन । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा सबै क्षेत्रमा उम्मेदवाररहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा घटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।

    सचिव विश्वकर्मासँगको टोलीमा एमाले रुपन्देहीका पूर्व इञ्चार्ज तथा नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदवारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदवारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।

    टोलीले सबै उम्मेदवारहरुले फराकिलो मतान्तरले जित्ने आत्मविश्वासका साथ मैदानमा खटिएको पाएपछि सामाजिक सञ्जालमा चलाइएका अफवाहमा कुनै सत्यता नरहेको निचोडमा पुगेको तर, एमालेको पक्षमा माहोल तयार भएपछि विपक्षीहरुले गर्ने गलत प्रचार तथा निर्वाचन नै विथोल्ने रणनीतिका बारेमा विशेष चनाखो रहन सम्बन्धित क्षेत्रीय कमिटीलाई निर्देशन गरेको थियो ।

    रुपन्देहीको क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल उम्मेदवार रहनुभएको छ । टोलीले सो क्षेत्रको निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठसँगको कुराकानीमा फरााकिलो मतान्तरले उपाध्यक्षले जित्ने विषयमा कुनै समस्या नरहेको जनाइएको थियो । श्रेष्ठले सबै वडागत रुपमा तयारी र उम्मेदारको घरदैलोको अभियान चलिरहेको बताउँदै एमालेविरुद्ध चलाइएका भ्रमहरु सबै मतदाताले बुझ्दै गएको बताउनुभयो । यो क्षेत्रमा पौडेलले २०६४ सालदेखि लगातार जित्दै आएको र पटकपटक अर्थमन्त्री भएर धेरै काम गरेको, अन्य दलका उम्मेदवारको केन्द्रमा पहुँच पनि कम भएकाले केही तटस्थ मतदाताहरु पनि स्वतः पौडेलको पक्षमा आउने आंकलन गरेको छ । 

    क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय नेता दधिराम न्यौपाने उम्मेदवार हुनुहुन्छ । यसअघि सो क्षेत्रमा दुईपटक निर्वाचन जित्नुभएका विश्वकर्माले न्यौपानेको घरदैलौमै पुगेर मतदातासमक्ष मत माग्नुका साथै त्यहाँको पार्टी कमिटीलाई पूर्णरुपमा लाग्न निर्देशन दिनुभयो । पूर्व मुख्यमन्त्री तथा एमाले नेता लिला गिरीले टोलगत रुपमा सुक्ष्म अध्ययन गरेर परिचालन हुन र समस्या देखिएका ठाउँमा तत्काल सम्बोधन गर्न सो क्षेत्रको कमिटीलाई निर्देशन गर्नुभएको थियो ।

    क्षेत्र नम्बर ३ मा उम्मेदवार रहनुभएका बासुदेव घिमिरेको माहोल पहिलेभन्दा धेरै राम्रो भएको टोलीलाई उहाँले सुनाउनुभयो । भैरहवा, बेथरी हुँदै फर्साटिकरमा रहेको घिमिरेको घरदैलोमै टोली पुगेर मैदानको अवस्थाबारे जानकारी लिएको थियो । घिमिरेले निर्धक्कका साथ निर्वाचन जितिने विषय टोलीलाई सुनाउनुभयो । उहाँले पार्टी नेतृत्व पूरै मैदानमा खटिएको र सबै क्षेत्रमा देखिएको ऊर्जाले यो अवस्था आएको बताउनुभयो । 

    क्षेत्र नम्बर ४ मा उम्मेदवारर रहनुभएका प्रमोद कुमार यादवको माहोल अझै राम्रो भएको एमालेले जनाएको छ । बुधबार उहाँको क्षेत्रमा देखिएको ठूलो र्यालीले पनि त्यसको संकेत गरेको जिल्ला अध्यक्ष गैरेले बताउनुभयो । मैदानमा पुगेर अवस्था हेरेपछि एमालेको पक्षमा माहोल बनेको पाएको र उम्मेदवार आफै ढुक्कसँग फराकिलो मतान्तरमा जित्ने अपेक्षा साथ खटिएको गैरेले बताउनुभयो । यसअघि निर्वाचन जितेको, पराजय भोगेको अनुभवी र सो क्षेत्रमा राजनीति गरेका यादवको उम्मेदारीले एमालेलाई आत्मविश्वास बढेको अनुगमन टोलीमा रहेका नेता गोपाल भट्टराईले बताउनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर ५ उम्मेदवार रहनुभएका प्रभावशाली नेता खिमलाल भट्टराईलाई मात्रै होइन उहाँका प्रतिष्पर्धीले पनि यो क्षेत्रमा एमाले बलियो भएको स्वीकार गरिसकेको क्षेत्र भएको पार्टीको दावी छ । बलियो सांगठनिक आधारमा सो क्षेत्रमा धेरै पहिलेबाट निर्वाचन तयारी गर्नुभएका भट्टराईले टोलीमा रहेका नेताहरुलाई आत्मविश्वासका साथ फराकिलो मतान्तरले निर्वाचन जित्ने सुनाउनुभयो । गैडहवा गाउँपालिकामा घरदैलोमा रहनुभएका भट्टराईले पार्टीले गर्ने निर्देशनका आधारमा अघि बढेको र कुनै स्थानमा समस्या भए तत्काल समन्वय गर्ने जनाउनुभएको थियो ।