२०८२, फाल्गुण १४ गते

Feb 26 2026 | २०८२, फाल्गुण १४ गते

सुप्रिम सहकारीपीडितले घिमिरेसँग भने–हाम्रो बचत फिर्ताको पहल गरिदिनुहोस्

बिहिवार , फाल्गुण १४, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • भैरहवा, १४ फागुन । चुनावी घरदैलो अभियानका क्रममा नेकपा (एमाले) रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेसँग सुप्रिम सहकारी संस्थाका पीडितले आफ्ना समस्या समाधान गरिदिन आग्रह गरेका छन् । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा घरदैलो कार्यक्रम गर्दै पुग्नुभएका घिमिरेलाई उक्त सहकारी संस्थाका बचतकर्ता मतदाताले आफूहरूले वर्षौदेखि जम्मा गरेको बचत रकम फिर्ता नपाउँदा आर्थिक र मानसिक रूपमा पीडित हुनुपरेको गुनासो सुनाएका हुन् । 

    पीडितहरूले सहकारीमा राखेको रकम नै जीवनभरको कमाइ भएको बताउँदै छिटोभन्दा छिटो बचत रकम फिर्ताको व्यवस्था मिलाउन राजनीतिक नेतृत्वले पहल गर्नुपर्ने माग गरेका थिए । ‘हामीले दुःख गरेर बचत गरेको पैसा डुब्यो, अहिले घरखर्च चलाउनै समस्या छ,’ एक बचतकर्ताले गुनासो गर्दै भने–‘हाम्रा समस्या सुनेर समाधानका लागि ठोस पहल गरिदिनुहोस् ।’ 

    जवाफमा उम्मेदवार घिमिरेले सहकारी पीडितको समस्या गम्भीर विषय भएको उल्लेख गर्दै आफू निर्वाचित भए कानूनी र नीतिगत पहलमार्फत समाधानका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन कडाइका साथ नियमन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

    घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले विकास निर्माण, रोजगारी, साना व्यवसाय तथा सुशासनका विषयमा समेत ध्यानाकर्षण गराएका थिए । घिमिरेले जनताको विश्वासलाई आधार मानेर अघि बढ्ने र नागरिकको हकहितका पक्षमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बनेको छ । विभिन्न दलका उम्मेदवारहरू प्रत्यक्ष रूपमा मतदाताको घरदैलोमा पुगेर समस्या सुन्ने र प्रतिबद्धता व्यक्त गर्ने क्रम जारी छ ।