२०८२, फाल्गुण १४ गते

Feb 26 2026 | २०८२, फाल्गुण १४ गते

‘देशको माया गर्ने र काम गरेर देखाउने नयाँ नेतृत्व चाहिएको छ’

बिहिवार , फाल्गुण १४, २०८२

  • 145
    Shares
  • 145
    Shares
  • रुपन्देही, १४ फागुन । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्यूरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा भेटिनुहुन्छ । स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका थापा गत फागुन ४ गतेदेखि निरन्तर जनताको घरदैलोमा हुनुहुन्छ । यस क्षेत्रका ३६ वडामध्ये २९ वटा वडाको यात्रा पूरा गरिसक्दा उहाँको अभियानले एउटा छुट्टै मानवीय र राजनीतिक रंग लिएको छ ।

    विशेष गरी विपन्न र पिछडिएका बस्तीहरूमा पुग्दा उहाँले पाउनुभएको स्वागत कुनै उत्सव भन्दा कम छैन । रास्वपाको टोली घरैदैलोमा पुग्दा स्थानीयहरू उत्साहका साथ निस्कने गरेको नेता–कार्यकर्ता बताउँछन् ।

    सियारी गाउँपालिका–२ का रामचन्द्र कहार भन्नुहुन्छ–‘हामीले वर्षौंसम्म विभिन्न राजनीतिक दलहरूलाई पटकपटक हेर्यौं । तर, देशमा भ्रष्टाचार र बेथितिबाहेक केही फेरिएन । अब हामीलाई पुराना अनुहार र पुरानै कार्यशैली होइन, देशको माया गर्ने र काम गरेर देखाउने नयाँ र युवा नेतृत्व चाहिएको छ ।’

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–९ निवासी सावित्रीदेवी केसीको पनि भनाइ पनि उस्तै छ । उहाँ डाक्टर थापा जस्तो बौद्धिक व्यक्तित्व राजनीतिमा आउनुलाई सुखद मान्नुहुन्छ । तर, मतदाताका अपेक्षा केवल ठूला र नीतिगत कुरामा मात्र सीमित छैनन् । 

    सियारी वडा नम्बर ६ निवासी लक्ष्मी भण्डारी ‘नयाँ’ लाई एकपटक अवसर दिनुको विकल्प नरहेको बताउनुहुन्छ । सिद्धार्थनगर–९ की सिमा सुनार भन्नुहुन्छ–‘नयाँले केही गर्छन् कि भन्ने आशामा छौं । गर्छन् कि गर्दैनन् भन्ने त काम हेरेपछि थाहा हुन्छ, तर पढेलेखेका नयाँ मान्छे आउँदा केही त परिवर्तन होला नि ।’

    अभियानका क्रममा झण्डै ९० प्रतिशत मतदाताबाट आफूले अपार माया प्राप्त गरेको डाक्टर थापाको दावी छ । उहाँ भन्नुहुन्छ–‘जनताले मागेका कुराहरू कुनै आकाशका तारा होइनन् । उनीहरूले केवल गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य र स्थानीयस्तरमै रोजगारी जस्ता आधारभूत अधिकार मागेका छन् । यी सेवाहरू जनताको नैसर्गिक अधिकार हुन् र यसका लागि पाँच वर्षको कार्यकाल पनि धेरै हुन्छ ।’ डा. थापाले अघि सारेको कार्ययोजना’ ले मतदातामा एउटा नयाँ आशा र भरोसाको सञ्चार गरेको छ ।

    अन्ततः, रुपन्देहीका मतदाताले यो निर्वाचनलाई केवल उम्मेदवार छान्ने माध्यम मात्र होइन, समग्र देश र पद्धति परिवर्तनको अवसरका रूपमा लिएका छन् । डा. थापाको टोली अब बाँकी वडाहरूमा पनि पुग्ने तयारीमा छ । मतदाताको यो आत्मीयता र डाक्टरको समृद्धिको संकल्पले यसपटकको निर्वाचन परिणाम कता मोडिने हो, त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।