२०८२, फाल्गुण १४ गते

Feb 26 2026 | २०८२, फाल्गुण १४ गते

यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो : विष्णु पौडेल

बिहिवार , फाल्गुण १४, २०८२

  • 142
    Shares
  • 142
    Shares
  • बुटवल, १४ फागुन । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दावी गर्नुभएको छ । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भइ पारित भएको बजेट कार्यान्वयनमा आउने भन्दै उहाँले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम रोकिने नभइ कार्यान्वयनमा जाने स्पष्ट पार्नुभयो । ‘यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो । होल्ड गरिएको निर्णय छिट्टै खुला हुन्छ, ’उहाँले भन्नुभयो ।

    बुधबार रुपन्देहीको बुटवलमा आयोजना गरिएको ‘खेलाडीसँग विष्णु प्रसाद पौडेल’ कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माण गर्ने, जिल्लालाई ‘स्पोट्र्स हब’ का रूपमा विकास गर्ने र खेल पर्यटनमार्फत रोजगारी तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना रहेको बताउनुभयो ।

    उहाँका अनुसार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्ने, निजी क्षेत्रले निर्माण गरेको एक्स्ट्राटेक ओभेल क्रिकेट मैदानमा सहजीकरण गर्ने तथा उजिरसिंह रंगशालाको निर्माण कार्य अघि बढाइनेछ । ‘रुपन्देहीलाई नयाँ मानक बनाउने लक्ष्य लिएका छौं, ’उहाँले भन्नुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कारण रुपन्देही चिनिएको उल्लेख गर्दै उहाँले खेल क्षेत्रलाई सीप विकास, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । खेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने उहाँको भनाइ थियो ।

    उजिरसिंह रंगशालाको निर्माणमा ढिलाइ भएको विषयमा चासो बढेको स्वीकार गर्दै उहाँले जग्गा प्राप्तिमा भएको ढिलाइ र वातावरणीय अध्ययन सम्बन्धी प्रक्रिया ईआईए र आईईई झण्झटिलो हुँदा काम प्रभावित भएको बताउनुभयो । एकपटक सम्पन्न भइसकेको इआईए पुनः गर्नुपर्ने अवस्था आएपछि प्रक्रिया लम्बिएको उहाँले स्पष्ट पार्नुभयो । पौडेलले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उक्त रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै काम अघि बढाइने तयारी रहेको जानकारी दिनुभयो ।
    ‘कुनै पनि समस्याको समाधान निराशा होइन,‘उहाँले भन्नुभयो–‘प्रतिकूलता र अवरोधलाई सकारात्मक सोचका साथ समाधान गर्नुपर्छ ।’

    यसैबीच खेलाडी र जनप्रतिनिधिबीच समन्वयका लागि पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सहजीकरणको भूमिकामा अघि सार्ने प्रस्ताव पनि उहाँले राख्नुभयो । सबै खेलका खेलाडीसँग संवाद, समस्या संकलन र समाधानका लागि जनप्रतिनिधिसँग सहकार्य गर्दै कार्यान्वयनसम्म लैजाने संवाद सुत्रका रूपमा गौचनलाई भूमिका दिने उनले बताए ।