२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी

बुधवार , फाल्गुण १३, २०८२

  • 127
    Shares
  • 127
    Shares
  • काठमाडौं, १३ फागुन । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको बताउनुभएको छ । 

    बुधवार आफ्नै कार्यकक्ष सिंहदरवारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विद्यमान निर्वाचन प्रणालीका कारण निर्वाचनमा महिलाहरुको उम्मेदवारीमा कमी हुन गएको प्रष्ट्याउनुभएको हो । उहाँले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको तर्क पनि गर्नुभयो ।

    उपाध्यक्ष घिमिरेले प्रत्यक्षतर्फको निर्वाचनमा लडनका लागि पार्टीले आफूलाई भनेको भएपनि खर्च धेरै हुने भएकाले आफूले उम्मेदवारी दिने आँट गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फका सांसदहरुलाई कमजोर ठान्ने सोच नै गलत भएको बताउनु भयो । देशभरका मतदाताहरुले समानुपातिक सांसदहरुलाई निर्वाचित गराउने भएकाले उनीहरुलाई प्रत्यक्षतर्फको सांसदभन्दा कमजोर ठान्न नमिल्ने उपाध्यक्ष घिमिरेको भनाई थियो । 

    उहाँले भन्नुभयो,‘अहिलेकै निर्वाचनमा भन्ने हो भने पनि यहाँबाट राजीनामा दिएर तपाई चुनाव लडन जानुस् भन्नेकुरा पनि मलाई कतैबाट आएको थियो । तर म जान सकिन । त्यो भनेको महिला सहभागिता बढाउनका लागि गरिएको भन्ने मलाई लाग्छ के । अब एउटा तयारीको कुरा पनि हुन्छ । अर्को खर्चपर्चको कुरा छ । मलाई लाग्छ– निर्वाचन प्रणाली नबदलेसम्म महिला सहभागिता प्रत्यक्षतर्फ यस्तै हुन्छ । त्यही भएर समानुपातिक राखिएको हो ।

    यसलाई पनि गलत अर्थमा बुझियो । मैले पूर्वराष्टपतिसँग पनि कुरा गरेँ । यो समानुपातिक भनेको देशभरका मान्छेले भोट दिएर आएको मान्छे सानो हुन्छ ? त्यसलाई किन दोस्रो दर्जाको रुपमा हेर्ने ? एउटा निर्वाचन क्षेत्रमा लडेर आउने मान्छे ठूलो हुने । देशभरका मान्छेहरुले मत दिएर आएको मान्छे सानो हुन्छ ? उसले त देशभरी हेर्नुपर्छ, ऊ ठूलो मान्छे हो । हामीले के लाई हेरियो भन्दा त्यहाँ गरिएको खर्चलाई मापन गरियो । यो गलत कुरा हो भनेर मैले पहिले पनि भनेको हो, अहिलेपनि भन्छु ।’

    उपाध्यक्ष घिमिरेले एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेकाहरुलाई फेरि सोहीतर्फको उम्मेदवारी बनाउने काम गर्न नहुने धारणा समेत राख्नुभयो ।