बुधवार , फाल्गुण १३, २०८२
भैरहवा, १३ फागुन । नेकपा (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देश समृद्ध बन्ने बताउनुभएको छ । उहाँले कृषिको विकासको लागि सिंचाई, उन्नत बिउविजन आवश्यक रहेको बताउँदै समयमै उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४, ५ र ६ को घरदैलो तथा मतदाता भेटघाट अभियानको क्रममा मतदातासँग कुराकानी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) को केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेदवार न्यौपानेले कृषिलाई व्यवसायीकरण गर्न राज्यले लगानी गर्ने वातावरण तयार गर्न आफूले राज्यलाई दबाब दिने बताउनुभयो । उहाँले कृषकको खेतमा प्राविधिक पहुँच बढाउनको लागि कृषि शिक्षालाई प्रवद्र्धन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका पूर्व प्रदेश सभा सदस्य समेत रहनुभएका उम्मेदवार न्यौपानेले किसानको खेतीको बेलामा प्राविधिक व्यवस्थापन गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेकपा एमालेको नेतृत्वमा क्षेत्रको विकासको योजना सुरुवात गरेको बताउँदै त्यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो । उहाँले क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र पूर्वाधार विकासको लागि एमाले निरन्तर लागिरहेको बताउनुभयो । घरदैलो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागीता रहेको पार्टीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij