बुधवार , फाल्गुण १३, २०८२
भैरहवा, १३ फागुन । कालिका मानवज्ञान र नेपथ्य कलेज रुपन्देहीको भैरहवामा जारी ११ औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन् । मंगलबार भएका दुई खेलमा कालिका मानवज्ञानले शान्ति नमूनालाई ९ विकेट र नेपथ्यले होराइजन जीवीएसलाई पनि ९ विकेटले नै पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको शान्ति नमूनाले १४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा कालिका मानवज्ञानका थानेश्वर भट्टराईले ६, विशाल भुसालले ३ र प्रज्जवल थापाले १ विकेट लिए । शान्ति नमूनाका रुद्रांन्स भट्टराईले १९, रौनक श्रीवास्तबले १५ र रोजन कुमालले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
प्रतिउत्तरमा कालिका मानवज्ञानले ७ ओभरमा १ विकेटको क्षतिमा ७० रन बनाउँदै सहज जीत हात पार्यो । उसको जितमा प्रज्जवल थापाले ५२ रनको अर्धशतकीय पारी खेले । बलिङमा शान्ति नमूनाका रौनक श्रीवास्तवले १ विकेट लिए । खेलमा थानेश्वर भट्टराई प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको होराइजन जीबीएसले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ६९ रन मात्रै बनायो । उसका लागि रोशन गौतमले १२ तथा कुशल पौडेल र कृष्ण कार्कीले ११–११ रन बनाए । बलिङमा नेपथ्य कलेजका रोशन बस्यालले ४, आरिफ खानले ३ र गणेश धितालले २ विकेट हात पारे ।
जवाफी ब्याटिङमा आएको नेपथ्य कलेजले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै ७१ रन बनाई जित निकाल्यो । उसको जितमा सन्दीप यादवले अविजित ३५ र कुशल ढकालले नटआउट २३ रन जोडे । बलिङमा होराइजन जीबीएसका साहन अली मुसलमानले १ विकेट लिए । खेलमा रोशन बस्याल प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउने छन् । त्यस्तै प्रतियोगिताको अनुशासित टीमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij