मंगलवार , फाल्गुण १२, २०८२
बुटवल, ११ फागुन । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ सोमबार तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा घरदैलोमार्फत मतदाताहरुसँग भेटघाट गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार पाण्डेसहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा नम्बर ६ का गोरकट्टा चोक, हरपुर, सुन्दरपुर वस्ती, गणेशपुर, पश्चिम पहुँनी, पूर्व पहुनीमा घरदैलो गर्दै मतदातासँग मत मागेका छन । त्यस्तै उनीहरुले कुञ्जलापुर, १२ नं चोक, १० नं चोक, विपी पथ, शंकरपुर लगायतका वस्तीमा घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन् ।
उम्मेदवारसहित मतदाता भेटघाट गरेका उनीहरुले झण्डा, माईक, ब्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर स्थानीय मतदातासँग मत मागेका थिए ।
मतदातासँगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएकाले मतदान गरेर सहयोग गर्न मतदाता समक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो अमूल्य भोटले पाँच वर्षको लागि भाग्य र भविष्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीपले निर्वाचनमा विजयीपश्चात जनताका पीरमर्का नभुल्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । उहाँले कुनै एजेण्डा बिना र आश्वासनका पोका बोकेर आएका उम्मेदवारलाई चिनेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातासँग आग्रह गर्नुभयो । निर्वाचन परिचालन समितिका संयोजक नारायण जी.सी. ‘निर्मल’ का अनुसार निर्वाचन आयोगको आचारसंहिताभित्र रहेर उम्मेदवारसहितको घरदैलो नियमित गरिएको छ ।
उम्मेदवार पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा समय मिलाएर नियमित घरदैलो गर्दै आउनुभएको छ । परिचालन समितिका संयोजक जी.सी.का अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij