मंगलवार , फाल्गुण १२, २०८२
बुटवल, १२ फागुन । सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा, चितवनमा नेपाल कम्युनिष्ट पार्टीको नेतृ रेणु दाहाललाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ ।
देशव्यापी युवाहरुको संगठन बनाएको समूहले उम्मेदवारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा पूर्वअर्थमन्त्री रहेका पौडेललाई समर्थन गर्ने भएको हो ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर समूहका प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवाहरुको पृष्ठभूमि र क्षमताको आधारमा समर्थन र सहयोग गर्ने नीति अनुसार यो क्षेत्रमा विष्णु पौडेललाई समर्थन गरेको जानकारी दिनुभयो ।
रुपन्देहीमा पौडेलले भौतिक विकास तथा पूर्वाधारको क्षेत्रमा गरेका कामको मूल्यांकन गर्दै बलियो जनाधारका कारण जेनजी २.० ले समर्थन जनाएको लिम्बुले बताउनुभयो । लिम्बुले सर्लाहीमा नेपाली काँग्रेसका सभापति रहेका गगन थापा र चितवनमा नेकपा नेतृ रेणु दाहाललाई समर्थन गरेजस्तै रुपन्देहीमा पौडेललाई समर्थन गरिएको उल्लेख गर्नुभयो । ‘विष्णु पौडेललाई हामीले समर्थन गरेका हौं, सुकुम्बासी, भूमिहीनका क्षेत्रमा, सडक निर्माणमा उहाँको योगदानका आधारमा साथ दिने निर्णय गरेका हौं, ’उहाँले भन्नुभयो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा सामाजिक सञ्जालहरुमा जति चर्चा भएपनि मतपत्रमा उक्त अवस्था नरहने उहाँको दावी छ ।
जनताको पक्षमा काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउनुपर्ने आफ्नो स्पष्ट दृष्टिकोण बताउँदै उहाँले राजनीतिक विचारभन्दा पनि पात्र र योजनाको आधारमा जेनजीहरुले साथ दिएको जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij