बुधवार , फाल्गुण ६, २०८२
भैरहवा, ६ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहरालाई आफ्नो समर्थन रहेको घोषणा गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिइ प्रचारप्रसार गरिरहेको तर, आफ्नो उम्मेदवारी निष्क्रिय पारेर राप्रपा उम्मेदवार बोहरालाई विजयी गराउन सघाउने निर्णय गरेको बताउनुभयो । ‘म आबद्ध केही धार्मिक संघ–संस्थाका महानुभावहरु त्था मेरा घरपरिवार, शुभेच्छुक, इष्टमित्रहरु ल्गायतले एउटै नीति, विचार र दृष्टिकोण लिएको राप्रपाले यस क्षेत्रमा वरिष्ठ पाइलट जस्तो शिक्षित र विशिष्ट उम्मेदवार बनाएका कारण उहाँलाई सहयोग र समर्थन गरी विजय गराउन दिएको सल्लाह–सुझावलाई आत्मसात गरी मैले गौरव बोहरालाई सघाउने निर्णय गरेको छु, ’उहाँले भन्नुभयो ।
यसका साथै वैदिक सनातन हिन्दू राष्ट्रसहितको राजसंस्था पुनस्र्थाना, संघीयताको खारेजी तथा २०४६ सालदेखि हालसम्मका भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने नीति र सिद्वान्त लिएको राप्रपाका उम्मेदवारहरुलाई विजय गराउन उहाँले सबैमा अनुरोध समेत गर्नुभयो । हाल आफू कुनै पार्टीमा प्रवेश नगरेको र पूर्ण स्वतन्त्ररुपमा नै राप्रपाका उम्मेदवारलाई समर्थन तथा प्रतिबद्धता जाहेर गरेको भण्डारीले बताउनुभयो ।
राप्रपाका उम्मेदवार गौरव बोहराले स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीसँग राप्रपाको एजेण्डा र स्थानीय मुद्दाहरु मिल्ने भएकाले उहाँले समर्थन गर्नुभएको बताउनुभयो । उहाँले राप्रपाको आग्रहलाई सहर्ष स्वीकारेको भन्दै भण्डारीप्रति आभार व्यक्त गर्नुभयो ।
राप्रपाको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार स्वाती थापाले राप्रपाले आफ्नो संकल्प–पत्र सार्वजनिक गरिसकेको बताउनुभयो । उहाँले राप्रपाको एजेण्डा जनताको एजेण्डा भएकोले पार्टीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।
पार्टीको रुपन्देही जिल्ला सचिव बलराम शर्माले राप्रपाप्रति दिनप्रतिदिन जनविश्वास र भरोसा बढ्दै गएको दावी गर्नुभयो । विश्व हिन्दु महासंघ रुपन्देहीका जिल्ला सभापति गोविन्द राज पाण्डेले हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने नीति लिएर विगतमा संसदमा पनि सशक्त आवाज उठाएको राप्रपाले सनातन हिन्दु राष्ट्रवादी र समग्र धर्मावलम्बी तथा सम्पूर्ण जनता र नेपालको हकहित हुने सिद्वान्त र विचार बोकेकाले राप्रपाका उम्मेदवारलाई र प्रत्यक्षतर्फ उम्मेदवार नभएको स्थानमा समान विचार भएका स्वतन्त्रतर्फका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij