मंगलवार , फाल्गुण ५, २०८२
भैरहवा, ५ फागुन । रुपन्देहीमा किसानलाई लक्षित गर्दै उन्नत गहुँखेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत भैरहवामा सुरु भएको तालिममा विभिन्न जिल्लाका २५ जना किसान सहभागी भएका छन् । अनुसन्धानबाट विकास भएका नयाँ गहुँका जात किसानसम्म प्रभावकारी रूपमा नपुग्दा उत्पादन अपेक्षाअनुसार बढ्न नसकेको भन्दै कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिममा किसानहरूलाई जलवायु परिवर्तनको असर सहन सक्ने उन्नत जातबारे जानकारी दिइँदैछ । भौगोलिक क्षेत्र, माटोको अवस्था र सिँचाइ सुविधाअनुसार उपयुक्त जात छनोट गर्ने तरिका सिकाइँदैछ । सन्तुलित मलको प्रयोग, रोग र किरा पहिचान तथा नियन्त्रणका उपायसमेत तालिममा सिकाइने राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाका संयोजक रोशन बस्नेतले बताउनुभयो ।
नेपालमा पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास भइसकेका छन् । हाल थप चार वटा जात सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जात सूचीबाट हटाइएका छन् । तर, पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै किसान अझै पुराना र कम उत्पादन दिने जातमै निर्भर छन् । विज्ञहरूका अनुसार पुराना जात प्रयोग गर्दा उत्पादन घट्नुका साथै रोग र किराको प्रकोप बढ्ने गरेको छ । नयाँ जात उत्पादन र उत्पादकत्व बढी दिने, रोग प्रतिरोधी र बदलिँदो जलवायु अनुकूल हुने गरी विकास गरिएका छन् ।
हाल नेपालमा वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिकटन गहुँ उत्पादन हुँदै आएको छ । यद्यपि आन्तरिक माग पूरा गर्न नसक्दा करिब ४ लाख मेट्रिकटन गहुँ आयात गर्नुपर्ने अवस्था छ । उन्नत बीउको पहुँच विस्तार, सिँचाई व्यवस्थापन र आधुनिक खेती प्रविधिको प्रभावकारी कार्यान्वयन गर्न सके देश गहुँ उत्पादनमा आत्मनिर्भर बन्न सक्ने विज्ञहरूको भनाइ छ । तालिमपछि सहभागी किसानले आफ्ना समुदायमा समेत सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij