२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

महिला सांसदमाथि हातपात गरेको भन्दै डीआइजीलाई कारवाहीको माग

सोमवार , बैशाख २०, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, २० वैशाख । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआइजीसहितको पुरुष प्रहरी समुहले हातपात र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महिला प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा शान्तिपुर्ण धर्ना बसेका बेला लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी  नायब महानिरीक्षक (डीआइजी) रविन्द्र बहादुर धानुकसहितका पुरुष प्रहरीले महिला सांसदमाथि हातपात गर्दै दुव्र्यवहार गरेको बताए ।

    प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि धर्नामा बसेका महिला सांसदहरुमाथि हातपात र दुव्र्यवहार गर्ने प्रदेश प्रहरी प्रमुख डीआइजी धानुकसहित घटनामा संलग्न प्रहरीलाई कडा कारवाही हुनुपर्ने माग उनीहरुले गरेका छन् ।

    अल्पमतका मुख्यमन्त्रीले सपथ लिन पाइँदैन भन्दै सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने सांसद निर्मला क्षेत्रीले माग गरिन् । 

    सांसद क्षेत्रीले भनिन्, ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपातमा लागेको र महिला सांसदहरुको संवेदनशील अंगमा समेत हातपात गरेकोले हातपात र दुव्र्यवहार गर्ने डीआइजी धानुकसहितका प्रहरीलाई कडा भन्दा कडा कारवाहीको हुनुपर्ने माग गर्दछौं ।

    नेकपा (माओवादी केन्द्र) का सांसद दामा शर्माले प्रदेश प्रहरी प्रमुख जस्तो व्यक्तिले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् । 

    डीआईजी धानुकको नेतृत्वमा रहेको प्रहरी टोलीले प्रमुख प्रतिपक्ष दलका सचेतक निर्मला क्षेत्री, फूलमति ढेगामगर, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापा लगायतका महिला सांसदमाथि दुव्र्यवहार गर्दै संवेदनशिल अंगमा समेत हातपात गरेको कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडियाले बताए ।