२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

रूपन्देही–३ मा मोजिब अलीको घरदैलो अभियान सुरु, सुशासन र रोजगारी प्राथमिकतामा

मंगलवार , फाल्गुण ५, २०८२

  • 154
    Shares
  • 154
    Shares
  • भैरहवा, ५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार मोजीब अलिले घरदैलो अभियान सुरु गर्नुभएको छ । यसअघि विभिन्न ठाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिनुभएका उहाँले सोमबारदेखि कार्यकर्तासहित घरदैलो अभियान सुरु गर्नुभएको हो । उहाँले सोमबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बाट घरदैलो सुरु गर्नुभएको हो ।

    देशमा फैलिएको विसंगति, विकृति र भ्रष्टाचार अन्त्य गर्ने मुख्य उद्देश्यसहित आफू उम्मेदवार बनेको अलिले बताउनुभयो । उहाँले उद्योगी, युवा तथा ज्येष्ठ नागरिकहरूले भोगिरहेका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘नेपाली जनताले भोगेका समस्यालाई सकेसम्म कम गर्ने काममा केन्द्रित हुनेछु,’उहाँले भन्नुभयो ।

    उहाँले राष्ट्रिय जनमुक्ति पार्टीले अघि सारेको ‘राइट टु कोट’ एजेण्डा अन्य दलभन्दा फरक रहेको दावी गर्नुभयो । उहाँले चुनावमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा इमान्दार रहने बताउनुभयो । सांसद निर्वाचित भए राष्ट्रिय सहमतिको आधारमा कानून निर्माण गर्दै समग्र विकास र सुशासनमा जोड दिने उहाँको भनाइ छ ।

    उम्मेदवार अलिले विगतदेखि उठाउँदै आएको सुशासन र भ्रष्टाचारमुक्त देशको मुद्दालाई अझ सशक्त रूपमा अघि बढाउने उल्लेख गर्नुभयो । युवाहरूको पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । ‘नीति र नियत स्पष्ट भए नेपाल पनि अन्तर्राष्ट्रिय रूपमा उदाहरणीय देश बन्न सक्छ,’उहाँले भन्नुभयो ।

    e715f5e0-c534-42e0-b852-7bbab0f3d2d7.jpg

    त्यसै गरी आफू निर्वाचित भए रूपन्देहीको दीर्घकालीन विकासमा प्राथमिकता दिने उहाँको प्रतिबद्धता छ । विशेष गरी ‘सेतो हात्ती’ को संज्ञा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन सरकार, जनता र व्यवसायीको साझेदारीमा पहल गर्ने उहाँले बताउनुभयो ।