२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

भैरहवामा मंगलबारदेखि साई ग्लोबल अन्तर कलेज क्रिकेट

सोमवार , फाल्गुण ४, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, ४ फागुन । रुपन्देहीको भैरहवामा मंगलबार (भोलि) देखि जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।
     
    संघका अध्यक्ष हरि बहादुर थापाले जिल्लास्तरमा खेलाडी उत्पादनमा टेवा युर्याउने उद्देश्यले विगत लामो समयदेखि साई ग्लोबल कलेजसँग सहकार्य गरेर संघले प्रतियोगिता सचालन गर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार फागुन ५ देखि १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागीता छ । संघले क्रिकेटको विकास र खेलाडी उत्पादनमा ध्यान दिँदै हरेक वर्ष तालिका अनुसार प्रतियोगिता गराउँदै आएको उहाँले बताउनुभयो ।
     
    मुख्य प्रायोजक साई ग्लोबल कलेजमा प्राचार्य दिनेशमान अमात्यले कलेज आफैले प्रतियोगिता आयोजना गर्दा सबै टीम सहभागी नहुने, खर्च बढी हुने र सबै पक्ष सन्तुष्ट नहुने वातावरण देखिएपछि क्रिकेट संघसँग सहकार्य गरिएको जानकारी दिनुभयो । उहाँले संघसँगको सहकार्यले राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो । सदाझै यसपटक पनि प्रतियोगिताले राम्रो सफलता पाउने अध्यक्ष अमात्यको विश्वास छ ।
     
    क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाँणले खुल्ला आह्वान गरेर टीम दर्ता गरिएको जनाउँदै धेरै टीमको सहभागीताले प्रतियोगितालाई थप उत्कृष्ट बनाएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
     
    त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको अनुशासित टीमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
     
    रुपन्देहीमा सञ्चालित निजी तथा सामुदायिक कलेजका टीम प्रतियोगितामा सहभागी छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । यो प्रतियोगिता विगत १० वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । पछिल्लो चार सिजन भने क्रिकेट संघसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ ।