सोमवार , फाल्गुण ४, २०८२
महाराजगंज (उत्तर प्रदेश), ४ फागुन । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलाई भारतको लोकप्रिय सञ्चार माध्यम जीन्यूजले सम्मान गरेको छ । सोमबार उत्तर प्रदेशको महाराजगंजमा आयोजित ‘जी उत्तर प्रदेश–उत्तराखण्ड, उत्तर प्रदेश की बात’ कन्क्लेव कार्यक्रममा अध्यक्ष रायमाझीलाई सम्मान गरिएको हो । कार्यक्रममा भारत सरकारका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरी विधायकहरू, सञ्चारकर्मी, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा जीन्यूजका सम्पादक रमेश चन्द्रले रायमाझीलाई सम्मान गर्दै नेपाल–भारत सीमा क्षेत्रको औद्योगिक, धार्मिक, साँस्कृतिक तथा स्वास्थ्य क्षेत्रको विकासमा सञ्चार क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। । रायमाझी विगत डेढ दशकदेखि राष्ट्रिय समाचार समिति (रासस) मा सक्रिय रहँदै सञ्चार क्षेत्रबाट सीमा क्षेत्रका मुद्दाहरू निरन्तर उठाउँदै आउनुभएको छ । उहाँ ‘लुम्बिनी खबर’ पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव समेत हुनुहुन्छ ।
सञ्चारमाध्यममार्फत सीमा क्षेत्रको स्वास्थ्य, शिक्षा, रोजगार तथा सामाजिक विकासका विषयमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको कार्यक्रममा उहाँको प्रशंसा गरिएको थियो ।
जीन्यूजका महाराजगंज प्रमुख अमित त्रिपाठीले अध्यक्ष रायमाझीले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सञ्चार क्षेत्रमार्फत पुर्याएको योगदान सराहनीय रहेको बताउँदै भारतीय सरकार, सञ्चार जगत र सर्वसाधारणसमेत उहाँप्रति सकारात्मक रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सीमा क्षेत्रमा रहेका साझा समस्या, अवसर र सम्भावनाका विषयमा अन्तरक्रिया तथा गहन छलफल भएको थियो । नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार–विमर्श गरिएको आयोजकले जनाएका छन् ।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्नुहुँदै लुम्बिनी प्रेस क्लब अध्यक्ष रायमाझीले केन्द्रीय वित्त राज्यमन्त्री चौधरी समक्ष नेपाल–भारत सीमावर्ती क्षेत्रमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि ‘क्रस–बोर्डर जर्नालिज्म एकेडेमी’ स्थापना गर्न आग्रह गर्नुभयो । सीमा क्षेत्रमा पत्रकारिताको संस्थागत विकासका लागि यस्तो एकेडेमी आवश्यक रहेको उल्लेख गर्दै उहाँले औपचारिक अनुरोध गर्नुभएको हो ।
रायमाझीले ‘दुईदेशीय पत्रकारिता सुदृढ गर्न तथा बौद्ध सर्किटको प्रवद्र्धनका लागि भारतीय केन्द्रीय सरकारको सहयोग अपरिहार्य रहेको जानकारी गराउनुभयो । क्रस–बोर्डर जर्नालिज्म एकेडेमी स्थापना भए दीर्घकालीन आधार तयार हुनेछ,’ उहाँले भन्नुभयो। उहाँले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय लगानीमा उद्योग स्थापना तथा सञ्चालनका लागि सहजीकरण गर्न, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई पूर्णरूपमा सञ्चालनमा ल्याई रेल सेवा विस्तार गर्न तथा सीमापार पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउन आग्रह गर्नुभयो । त्यस्तै लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई समेटेर बौद्ध सर्किटको समग्र विकासका लागि विशेष पहल गर्न पनि अनुरोध गर्नुभयो।
राज्यमन्त्री चौधरीले प्रस्तावहरू सकारात्मक भएको बताउँदै नयाँ दिल्ली पुगेर सम्बन्धित निकायसँग छलफल गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष नरेश केसी, कोषाध्यक्ष विष्णु भट्टराई, सह–कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ता तथा निवर्तमान कोषाध्यक्ष राधेश्याम विश्वकर्मालगायतको उपस्थिति थियो ।
नेपाल–भारत सीमा क्षेत्रमा सक्रिय पत्रकारितामार्फत दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन, साझा मुद्दा उठान गर्न तथा सहकार्यको वातावरण निर्माणमा योगदान पुर्याएको भन्दै रायमाझीलाई सम्मान गरिएको आयोजकले जनाएको छ । यस सम्मानले सीमा क्षेत्रको पत्रकारिता र द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij