२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

रुपन्देही–२ मा नेकपाको ३०१ सदस्यीय युवा परिचालन समिति गठन

शनिवार , माघ २४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले क्षेत्र नम्बर २ मा कृष्णबहादुर थापाको संयोजकत्वमा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ । शनिबार बुटवलमा सम्पन्न भेलाले समितिको सह–संयोजकहरुमा प्रकाश परियार, सिर्जन थापा, धनसिंह खाम्चा र गोबिन्द खरेललाई चयन गरेको छ ।

    बुटवल उपमहानगरपालिकाका १३ वडा, तिलोत्तमाका ६ वडा र सैनामैनाका ४ वडामा नेतृत्वमा रहेका युवाहरुलाई परिचालन समितिमा राखिएको नेकपाले जनाएको छ ।
    निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन बिथोल्ने गतिविधि र आम मतदातालाई अनेक प्रलोभन देखाएर प्रभावित पार्ने अवस्थालाई न्यून गर्न युवाहरुले भूमिका खेल्ने संयोजक कृष्ण थापाले बताउनुभयो । थापाका अनुसार युवा परिचालन समितिले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाता शिक्षा र चुनाव चिन्हका बारेमा समेत जनतालाई जागरुक बनाउन भूमिका खेल्नेछ ।

    युवा परिचालन समिति भेलामा बोल्दै नेकपा रुपन्देही–२ का नेकपाका उम्मेदवार तथा युवा नेता सुवास पाण्डे ‘विश्वदीप’ ले चुनाव जितेपछि नीतिगत कामका लागि संसदमा आवाज उठाउँदै युवाहरुलाई स्वरोजगार बनाउन आफूले महत्वपूर्ण पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेदवार पाण्डेले रुपन्देहीको विकासका साथै समग्र लुम्बिनी प्रदेशको विकासमा आफूले नेतृत्व गर्न चाहेको उल्लेख गर्दै पार्टीका शिर्ष नेताहरुसँगको सहकार्यबाट प्राप्त अनुभवलाई जनताको हितमा प्रयोग गरिने बताए ।

    युवाहरुले उठाएका विभिन्न जिज्ञासाहरुको जवाफ दिदै उनले आफू विजयी पछि जेन्जी आन्दोलनको मर्म र भावनाअनुसार कुनै राजनीतिक पूर्वाग्रहबिना जनताको सेवामा खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो । युवा नेता पाण्डेले आफू सधै जनताको सुख र दुःखको साथी बन्न चाहेको उल्लेख गर्दै आगामी दिनमा जस्तोसुकै कठिन अवस्थामा पनि जनताको साथमा रहने जिकिर गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही–२ निर्वाचन परिचालन समितिका संयोजक नारायण जि.सी. ‘निर्मल’ ले आफ्नो पार्टीको उम्मेदवार विचारमा प्रतिबद्ध, भ्रष्टाचारमा कुनै दाग नलागेको निष्कलंक रहेको बताउनुभयो । उहाँले विकासको स्पष्ट खाका लिएर चुनावमा होमिएकाले तारा चिन्हमा मतदान गरेर विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभयो ।  

    नयाँ भनिने दलहरुले जेन्जी आन्दोलनले उठाएका मागहरु जायज छन् भन्न नसकेको उल्लेख गर्दै उनले जेन्जी आन्दोलनको हुर्मत लिनेहरुलाई बेलैमा चिनेर जनताले मतदानबाट जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । युवा परिचालन समितिका संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका नेता एवं निर्देशक समितिका संयोजक राम परियार, प्रकाश परियार लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।