शुक्रवार , माघ २३, २०८२
भैरहवा, २३ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा तिनका उम्मेदवारहरु आन्तरिक प्रचारप्रसारमा जुटेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु विभिन्न रणनीति बनाएर चुनावी मैदानमा होमिएका छन् ।
निर्वाचन नजिकदै गर्दा दल तथा उम्मेदवारले आंचारसंहिता उल्लंघन गर्न सक्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताबारे उम्मेदवार तथा सरोकारवालालाई सचेत बनाएको छ । कार्यालयले सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया गर्दै निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला सबै निकायले आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आग्रह गर्नुभयो । ‘पालना नगरिएमा उम्मेदवारी नै खारेज हुनेसम्मको दण्ड जरिवानाको प्रावधान छ’ मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो–‘निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाऔं ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले रुपन्देहीमा निर्वाचनका लागि आबश्यक शान्ति शुरक्षाको पुर्ण प्रत्याभुति रहेको बताउनुभयो । उहाँले ढुक्क भएर मतदान गर्न सकिने सुरक्षाको बातावरण तयार पारिएको उल्लेख गर्दै नागरिकलाई निर्वाचनबारे जागरुक बनाउन आग्रह गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृका आचार्यले निर्वाचन आचारसंहिता पालना गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबैले आचारसंहिता पूर्ण रुपमा पालना गर्नेबारे सहमति जनाउनुभएको छ । रुपन्देही क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न कतिपय व्यवहारिक कठिनाइ भएपनि निर्वाचनलाई स्वच्छ, भयरहित र कम खर्चिलो बनाउनका लागि आफु लाग्ने प्रतिवद्धता जनाउनुभयो ।उहाँले आचारसंहिताले निर्दिष्ट गरेका कुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्वाचन आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार नन्द कुमारी थापाले आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय दल र तीनका उम्मेदवारहरुले आचारसंहिता उल्लघन गर्ने गरेकाले अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी अधिकांश उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले विगतका निर्वाचनमा आचारसंहिताको पूर्णरुपमा पालना हुन नसकेको र नियमन गर्ने निकायले पनि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै यसपटक खरो रुपमा उत्रिन आग्रह गरेका छन् ।
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले पूरा गर्न नसक्ने खालका चुनावी घोषणापत्रमाथि पनि निर्वाचन आचारसंहिताको दृष्टिले अनुगमन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । ‘जनतालाई दिग्भ्रमित गराउने र पूरा नै हुन नसक्ने खालका चुनावी घोषणापत्र तथा चुनावी मुद्दा लिएर मतदातासमक्ष जानेमाथि पनि कडा निगरानी हुनुपर्छ, ’उहाँले भन्नुभयो।
स्वतन्त्र उम्मेदवार जीत बहादुर गुप्ताले डिजे बजाएर सभाहरु गर्न नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सबै दल तथा उम्मेदवारहरूले यसमा गरेको प्रतिबद्धता पालना गरे धेरै समस्या समाधान हुने बताउनुभयो । उहाँले उम्मेदवारहरूले दर्ताबिनामा मिडिया र सामाजिक सञ्जालमा गरिएको गलत सन्देशहरूलाई तत्काल हटाउनुपर्ने जानकारी दिनुभयो ।
राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनीका अध्यक्ष गोपाल ज्ञवालीले दर्ताबिना र राज्यको आधिकारिक निकायमा नभएका च्यानलहरूबारे प्रशासनको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताउँदै आफूहरूले आचारसंहितामा रहने प्रतिबद्धता गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
