बिहिवार , माघ २२, २०८२
भैरहवा, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस हुनुभएका डा. श्री कुँवरले पार्टी परित्याग गर्नु भएको छ ।
पार्टीप्रती गंभिर आरोप लगाउदै कुवंरले पार्टी छाड्नु भएको छ । उहाँले पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको बताउनु भयो ।
रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस हुनु भएको थियो । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गर्नुभएको थियो भने अहिले महामन्त्रीको जिम्मेवारीमा रहनु भएको छ ।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उहाँले पार्टी परित्याग गरेको बताउनु भएको छ ।
समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिनु भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ ।
‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ । तर भएन,’ कुँवरले भने, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो ।’
रास्वपाले विदेशमा रहेका धेरै नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ । उहाँले अब आफू रवि लामिछाने वा अरु कसैले भने पनि रास्वपामा नफर्किने जिकिर गर्नुभयो ।
रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकका लागि प्रति व्यक्ति २५ हजार र समानुपातिकमा समावेश गर्ने भन्दै ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
