बिहिवार , माघ २२, २०८२
काठमाडौं, २२ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ ।
पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गर्नुभयो । देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गर्नुभयो ।
उहाँले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताउनु भयो । उहाँले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उहाँको भनाई छ । नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको जानकारी दिनुभयो ।
अध्यक्ष घिसिङकाअनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन् । उहाँले यी दुबै पार्टीहरू भाषण गरेर नभई समाजमा काम गरेर आएको पार्टी भएको बताउनु भयो । उहाँले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । भाषण गरेर देशमा रुपान्तरण नहुने उहाँको भनाई छ । उहाँले आफूहरुले विगतमा पनि काम गरेको र आगमी दिनमा पनि गर्ने बताउनुहुँदै आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उज्योलो नेपाल पार्टी जेन–जी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो । नयाँ उर्जा र जोश लिएर आएको पार्टी हो । उज्यालो नेपाल पार्टीसंग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ । यी दुवै पार्टी जेनजी आन्दोलन पछि स्थापना भएका पार्टी हुन् । राष्ट्रिय परिवर्तन पार्टी जेन–जी आन्दोलनका घाइतेहरुको पार्टी हो । दवै पार्टीले जेन–जी आन्दोलनको भावना र मागलाई बोकेको छ ।
यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ । हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ । हामी डेलिभरी दिनको लागि आएका हौँ । अबको भोट भनेको डेलिभरि दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन । काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ । यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ ।
हाम्रो पार्टी डेलिभरि दिने पार्टी हो । अरु भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होईन । डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी हो । हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होईन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।’
उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान शुरु गरेको छ । अध्यक्ष घिसिङकाअनुसार मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति रहेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उहाँले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
