२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

पीएम कप लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दिया र बाँकेको जीत

बुधवार , माघ २१, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • भैरहवा, २१ माघ । रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दिया र बाँकेले जीत निकालेका छन् । 

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् ।

    बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले ३९ ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो । उसका लागि केशव विष्ट र सुमित श्रेष्ठले अर्धशतकीय पारी खेले । केशवले अविजित ९४ र सुमितले ६६ रन जोडे । यस्तै, हर्षल भण्डारीले ३० तथा नितेश न्यौपानेले १४ रन बनाए । बलिङमा पाल्पाका केशव परई, नरबहादुर सार्की, रुपेश बस्याल र थानेश्वर भट्टराईले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको पाल्पा ३५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ४० रनमा समेटियो । उसका लागि नरबहादुर सार्कीले ४४, रुपेश बस्यालले १५ र कुशल ढकालले १४ रन बनाए । बलिङमा बर्दियाका निर्मल गुरुङले ३ तथा निखिल खत्रीले २ विकेट लिए । खेलमा केशव विष्ट प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

    त्यस्तै अर्को खेलमा टस हारेर ब्याटिङमा आएको नवलपरासीले २९ ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । जसमा रन्जितकुमार खत्रीले ५४, सम्राट भुसालले ३९, ड्रस सुनारले अविजित ३६ र जितेन्द्र केवटले १४ रन बनाए । बलिङमा बाँकेका सलाउद्दिन खानले ३, लभकुश यादवले २ तथा सिद्धान्तराज शाहीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बाँकेले २५ ओभर १ बल खेल्दै ४ विकेट गुमाएर १ सय ६८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा मोहम्मद सदाब अन्सारीले अविजित ७४ रन जोड्दा सलाउद्दिन खानले अविजित ६३ रनको योगदान गरे । बलिङमा नवलपरासीका राजेन्द्रकुमार बम र जितेन्द्र केवटले समान २–२ विकेट हात पारे । खेलमा सलाउद्दिन खान प्लेयर अफ द म्याच भइ पुरस्कृत भए ।
    माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स छ भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौं छन् । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।