२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी प्रदेशसभाको अधिवेशन आज सुरु हुँदै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने

आइतवार , बैशाख १९, २०७८

बुटवल, १९ वैशाख । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल र मतदान गर्न आह्वान गरिएको प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हँदैछ । दिउँसो १ बजे सुरु हुने प्रदेशसभा बैठकमा पेश गरिने अविश्वासको प्रस्तावका बारेमा विशेष रणनीति बनाउन सत्तापक्ष र प्रतिपक्ष दलका बैठक अहिले बस्दैछन् । 

प्रदेशसभा सचिवालयका अनुसार आजको कार्यसुचीमा गत वैशाख ६ गते ४२ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरी दर्ता गरेको मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने कार्यक्रम छ । अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका ४२ मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट हस्ताक्षर गरेका ३ जना र नगरेका १ जना सदस्य शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनिसकेका छन् । 

आजको बैठकमा अविश्वास प्रस्ताव टेबुल भएसंगै प्रस्तावमाथि छलफल हुने र दलका प्रतिनिधिहरुले बोल्ने कार्यक्रम छ । बैठकमा पेश भएको अविश्वास प्रस्ताव र बैठकमा उठेका कुराहरुका बारेमा भोली (सोमबार) मुख्यमन्त्रीले जवाफ् दिने कार्यक्रम रहेको विभिन्न दलका नेताहरुले बताएका छन् । बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न आफ्नो संसदीय दलको बैठक बसिरहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । 

हाल लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा (माओबादी केन्द्र) का सभामुखसहित १८, जनता समाजवादी पार्टी नेपालका २ र राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा ८१ जना सदस्यहरु छन् ।  यसअघि माओबवादी केन्द्रका दधिराम न्यौपाने र दिनेश पन्थीले जनाले दल त्याग गरी एमालेमा गएकोले पद रिक्त छ । उता मन्त्री बनेका जसपाका सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी सांसद नरहेको सूचना प्रकाशित भइसकेको छ । प्रदेशसभा नियमावली अनुसार सांसदबाट पदमुक्त भएका ती ६ जनाले मतदान गर्न पाउने छैनन् । 

अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका बिपक्षी दलको पनि बैठक बसिरहेको र अबिश्वासको प्रस्तावलाई पास गराउन के गर्न सकिन्छ भन्ने विषयमा रणनीति बनाउने काम भइरहेको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले बताए ।