सोमवार , माघ १९, २०८२
काठमाडौं, १९ माघ । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ ।
सोमवार पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव समारोहमा उहाँले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको हो । उहाँले विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई पाँच प्रतिशत बजेट अनिवार्य रूपमा अनुसन्धानमा खर्च गर्न निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।
उहाँले अनुसन्धानमा बजेट खर्च गर्ने प्रयोजनका लागि विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्र पठाउने तयारी समेत गरेको उहाँले बताउनु भयो । उहाँले पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पनि आग्रह गर्नुभयो ।
यसले सिंगो त्रिभूवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने उहाँको भनाई छ । उहाँले विश्वविद्यालयले हाल दुई वटा प्रमुख कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । उहाँकाअनुसार विश्वविद्यालयका सम्पूर्ण अभिलेखहरू डिजिटल रूपमा सुरक्षित गर्ने उद्देश्यसहित डिजिटाइजेशन प्रक्रिया शुरु भइसकेको छ ।
यसका लागि आवश्यक सफ्टवेयर खरिद गर्न टेण्डर आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयको संरचनात्मक पुनर्संरचना गर्न लागिएको बताउनुभयो । यसका लागि क्याम्पसहरुको सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्र भनेर विकास गरिदिनुहोला । यसले सिंगो त्रिभूवन विश्वविद्यालयलाई नै स्तरोन्नतिको लागि सहयोग पुग्नेछ । विश्वविद्यालयले पत्र पनि पठाउँछ, कम्तीमा आफ्नो आम्दानीको केही प्रतिशत बजेट अनुसन्धानमा खर्च गरिदिनुहोला ।
कम्तिमा पनि साँढे दुई प्रतिशत, हामीले विश्वविद्यालयका आंगिक क्याम्पसहरुलाई पाँच प्रतिशत अनिवार्य गरेका छौँ । तपाईहरुको आफ्नो आर्थिक आय आर्जन र आय क्षमताअनुसार कम्तिमा पनि साँढे दुई देखी पाँच प्रतिशत आम्दानीको रकम अनुसन्धानको लागि खर्च गरिदिनुहोला ।
हामीले अहिले दुई वटा कार्यक्रमहरु ल्याएका छौँ, एउटा चाहीँ डिजिटलाईजेशन गर्ने, विश्वविद्यालयको सम्पुर्ण अभिलेखहरु डिजिटल रुपमा कायम गर्ने भनेर शुरुवात गरिसकेका छौँ । आवश्यक सफ्वयेरहरुको टेण्डर आह्वान भइसकेको छ । यसमा तपाईहरु पनि जोडिनुपर्ने हुनसक्छ । त्यसपछि विश्वविद्यालयलाई रि–स्टक्चर गर्नेछौँ ।’
उहाँले विश्वविद्यालयले क्याम्पसका प्राध्यापकहरूको स्तर निर्धारणसम्बन्धि मापदण्ड सिनेटबाट अनुमोदन गरेको पनि जानकारी दिनुभयो । कलेज नविकरण प्रक्रियामा देखिँदै आएको प्रशासनिक झन्झट हटाउन आवश्यक प्रक्रिया शुरु गरिएको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
