बिहिवार , माघ १५, २०८२
भैरहवा, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै जाँदा रुपन्देही जिल्लामा रौनक बढेको छ । प्रतिनिधि सभातर्फ जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र छन् । पाँचवटामध्ये चारवटा क्षेत्रबाट ६ जना पूर्वमन्त्रीहरु उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुभएको छ ।
क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट घनश्याम यादव उम्मेदवार बन्नुभएको छ । यादव पूर्व स्थानीय विकास राज्यमन्त्री हुनुहुन्छ । उहाँ २०६४ सालमा सोही निर्वाचन क्षेत्रबाट तत्कालिन नेकपा (माओवादी) बाट निर्वाचित हुनुभएको थियो । त्यसपछिका चुनावमा उहाँ पश्चिम नवलपरासीबाट उम्मेदवार बने पनि विजयी हुन सक्नुभएन । धेरै वर्षपछि पुनः उहाँ रुपन्देही–१ बाट उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा नेकपा (एमाले) बाट पार्टीको उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल पुनः उम्मेदवार बन्नुभएको छ । पौडेल २०६४, २०७०, २०७४ र २०७९ सालमा निर्वाचित भइसक्नुभएको छ ।
क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा), नेपालबाट पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ल उम्मेदवार बन्नुभएको छ । २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित शुक्ल यसपटक पनि उम्मेदवार बन्नुभएको छ । उहाँले शिक्षासहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट पूर्व अर्थराज्यमन्त्री भरत कुमार शाह उम्मेदवार बन्नुभएको छ । उहाँ २०७० र २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । तर, २०७९ सालमा भने नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेसँग पराजित हुनुभयो । उहाँ यसपटक पनि उम्मेदवार बन्नुभएको छ ।
क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टी, नेपालबाट पूर्व वनमन्त्री मोहम्मद वकील मुसलमान उम्मेदवार बन्नुभएको छ । उहाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्नुभएको हो । २०६४ सालमा मुसलमान सोही क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै जनमत पार्टीबाट पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) उम्मेदवार बन्नुभएको छ । उहाँ २०६४ सालमा रुपन्देही क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यो क्षेत्रमा एमालेबाट पूर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई उम्मेदवार हुनुहुन्छ ।...
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
