२०८२, माघ १४ गते

Jan 28 2026 | २०८२, माघ १४ गते

डिजिटल मार्केटिङ तालिम शुभारम्भ

बुधवार , माघ १४, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • बुटवल, १४ माघ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा निःशुल्क डिजिटल मार्केटिङ तालिम बुटवलमा शुभारम्भ भएको छ । 

    रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि सञ्चालन गरिएको १६ दिने (९६ घण्टे) निःशुल्क डिजिटल मार्केटिङ तालिम बुधबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो ।

    तालिमको रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्घाटन समारोहमा बोल्नुहुँदै डिजिटल प्रविधिको तीव्र विकाससँगै उद्योग तथा व्यवसायलाई समयसापेक्ष रूपमा अघि बढाउन डिजिटल मार्केटिङको ज्ञान अपरिहार्य भएको बताउनुभयो । उहाँले यस तालिमले स्थानीय उद्योगलाई प्रविधिमैत्री बनाउँदै बजार विस्तार, ब्रान्ड प्रवद्र्धन र रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । डिजिटल सीपले युवालाई रोजगारी खोज्ने मात्र नभइ आफैं रोजगारी सिर्जना गर्न सक्ने उद्यमी बनाउने उल्लेख गर्नुभयो । उहाँले रूपन्देही उद्योग संघले आगामी दिनमा समय सापेक्ष, परिणाममुखी र प्रविधिमैत्री सीप विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रम सञ्चालन गर्दै रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालले उद्योग व्यवसायलाई प्रतिष्पर्धी बनाउन डिजिटल सीप महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले यस प्रकारको तालिमले उद्योगमा कार्यरत जनशक्तिलाई आधुनिक बजार प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

    तालिमका प्रशिक्षक इञ्जिनियर अमृत रानाभाट र विनय शर्माले तालिमको संरचना, उद्देश्य र सिकाइ विधिबारे जानकारी गराउँदै सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, डिजिटल विज्ञापन, ब्रान्डिङ, ग्राहक पहुँच विस्तार तथा अनलाइन व्यापार रणनीतिबारे सैद्वान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो ।

    कार्यक्रममा १६ वटा उद्योगबाट २० जनाको सहभागीता छ । तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको छ ।

    स्थानीय उद्योग तथा पेशाकर्मीलाई डिजिटल रूपमा सक्षम बनाउँदै विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।