सोमवार , माघ ५, २०८२
जनपुर,५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताउनुभएको छ ।
जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताउनु भयो ।
जनकपुर मधेस प्रदेशको राजधानी भएपनि अधिकारका लागि काठमाडौं धाउने गरेको आफूले देखेको र महानगरको प्रमुख हुँदा मुकदर्शक मात्रै बनेको बताउनु भयो । उहाँले काठमाडौं अधिकार माग्न नभइ घुम्न मात्रै जाने स्थिति निर्माण आफूहरुले गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म जनकपुर आएपछि धेरैले भने राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयताप्रतिको धारणा के हो ? प्रदेश अझै बलियो बनाउँछौँ । प्रदेशको काम अझ राम्रो बनाउनेछौँ । जनकपुर प्रदेशको राजधानी हो ।
काठमाडौं कामका लागि किन धाउने ? संघीयतालाई अझ बलियो बनाउने गरी हामी लाग्नेछौँ । काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो । अधिकार माग्नका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउनुपर्छ ।’
उहाँले चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर भएर काम गर्दा भषण दिने फुर्सद नभएको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij